कविता : अमुक कैदी
सधै म
आफ्नै लागि
हो हो मेरै लागि
अथक योद्धा जस्तै
अहोरात्र
मलाई खोजिरहेको छु।
म नहुँदा पनि
मेरा वरिपरिका
पृथ्वी,वायु,
जल,अग्नी र आकाश
यथावत नै थिए
अनन्त कालदेखि ।
तर म कहाँ थिएँ ?
हो हो म कहा थिए ?
यही प्रश्नमा गुजुल्टिएको म,
तिनै पृथ्वी, वायु,
जल,अग्नी र आकाशको
समिश्रणले वनेको
यो स्थूल शरिरलाई घिस्याउदै,
यहि भौतिक संसारमा
निरन्तर
मेरो मेरो भन्दै
अथक प्रयास गरेर
म भित्रको म खोजिरहेको छु ।
तर मैले खोजिरहेको मेरो म
के हो ?
कस्तो छ ?
अनि कहा छ ?
हो यहि प्रश्नमा
दिनरात घेरिइरहेको म
अनन्तकाल देखि नै
अनवरत अस्तित्वमा रहेको
पञ्च भौतिक तत्वको
कारागार भित्र
निरुत्तर
बन्दी भैरहेको छु
एउटा अमुक कैदी जस्तो !!
- किशोर कोइराला, इनरुवा, सुनसरी
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology