मान्छेहरु मर्न दिनुस
ज्यु हजुरिया हट्दै गयो
भुँइ मान्छेहरु चन्द्रमामा गयो
हिजोका दासहरु आज मालिक बन्दैछन
महोदय
यो मलाई स्विकार्य छैन
मान्छेहरु मर्न दिनुस ।
दलितले आरन छोडेको फिटिक्कै सुहाएन
नारीले अधिकार जमाएको फिटिक्कै सुहाएन
हिजोका गुलामहरु मालिक बन्दैछन
महोदय
यो मलाई स्विकार्य छैन
मान्छेहरु मर्न दिनुस ।
जातिय द्वन्द्व अझै चर्काउ पुरानै धन्धा बल्झाउ
झुपडिमा अभाव सुहाउँछ
हिजोका गरिबहरु आधुनिक बन्दैछन अरे
महोदय
यो मलाई स्विकार्य छैन
मान्छेहरु मर्न दिनुस।
हुक्के बैठकेहरु अझै जुट
श्री ५ को ठाउँमा श्री राखेर लुट
हिजोका रैतिहरु जनता बन्दैछन अरे
महोदय
यो मलाई स्विकार्य छैन
मान्छेहरु मर्न दिनुस।
भोक चुलियोस झुपडीमा
रोग चुलियोस बस्तिमा
गरिबहरु एकएक गर्दै न्याय खोज्दैछन अरे
महोदय
यो मलाई स्विकार्य छैन
मान्छेहरु मर्न दिनुस ।
मान्छेहरु मर्न दिनुस ।।
- रामचन्द्र तिम्सिना (आवाज)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology