भन्न त धेरै पहिले देखि भन्थ्यो उस्ले
म भोलिबाट रक्सी पिउदिन
यहि खुसीमा घुँडा धसेर पिउथ्यो
मुन्टो डुबाएर सुत्थ्यो र भन्थ्यो
म भोलिबाट रक्सी पिउँदिन ।
बिहान ह्यांग भएर पिउथ्यो
दिउँसो टाउको दुखेर पिउथ्यो
राती निन्द्रा नलागेर पिउथ्यो।
कसम खाएर छोड्थ्यो
देउता भाकेर छोड्थ्यो
भोलिबाट पिउदिन भनिभनी पिउथ्यो ।
बार र पर्वहरुको साइत जुराउँथ्यो उस्ले
झरी-बादलको बहाना खोज्थ्यो उ
कहिले पिर परेर खान्थ्यो
कहिले खुशी भएर खान्थ्यो
घडी हेरिहेरी खान्थ्यो
दिन गनिगनी खान्थ्यो र भन्थ्यो
भोलिबाट रक्सी खादै खान्न म ।
गतसाल पनि उस्ले यसैगरी छोडेको थियो
यसपाली पनि छोडेछ
बिहान छोडेकै थियो,साँझ पनि छोडेछ
साच्चै उस्ले रक्सी छोडेछ।
साच्चै उस्ले रक्सी छोडेछ ।।
- रामचन्द्र तिम्सिना (आवाज
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology