घिरौंला
तिमी छानीछानी आलु काट
म मिलाई मिलाई घिरौंला काट्छु
नाक खुम्च्याउनु पर्दैन प्रिय्
बरु आउ
म कडाई बसाउँछु
मिलिजुली घिरौंला पकाउँ ।
भारतको प्याज निकाल काटकुट पार
१/२ थोपा अझै झर्छ होला तेलको पाकेट निचार ।
सिलिन्डरमा ग्याँस पछि भरौंला
अहिले दाउरा जोडौं
नाक खुम्च्याउनु पर्दैन प्रिय्
बरु आउ
म आगो फुक्छु
मिलिजुली घिरौंला पकाउँ ।
म परपर भुट्छु, तिमी पानी हाल
म खुर्सानी पिन्छु, तिमी नुन थप
दशैंको कवाफ सम्झिदै भात निल्नु पर्छ
नाक खुम्च्याउनु पर्दैन प्रिय्
बरु आउ
म कविता भन्छु, तिमी थपडी मार
मिलिजुली घिंरौंला पकाउँ ।
छोराछोरी बोलाउ छेउमा बसाउ
पिर ब्यथा भुलाउन एकछिन हसाउ
तिमी खुशी भए न छोराछोरी हाँस्ने हुन
नाक खुम्च्याउनु पर्दैन प्रिय्
बरु आउ
म अतीत सम्झन्छु तिमी खिस्स मुस्कुराउ
मिलिजुली घिरौंला पकाउँ ।
अस्ति नै खाएको थकाली सम्झ
हनिमुन जाँदाको रेस्टुरेन्ट सम्झ
मुख मीठो भए न तिहुन मीठो हुने हो
नाक खुम्च्याउनु पर्दैन प्रिय्
बरु आउ
तिमी राजाको कथा भन, म सर्वहारको ब्यथा भन्छु
मिलिजुली घिरौंला पकाउँ ।
मिलिजुली घिरौंला पकाउँ ।।
- रामचन्द्र तिम्सिना (आवाज)
म्यागङ ५ सामरी,नुवाकोट
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology