राजनीति हिसाब
जति घट्यो उति जोड हुनेछन्
यता घट्दा, उता गुणा हुनेछन्
अग्रभागमा रहनेछ रुपैयाँ
कसैले भाग गर्नेछन्, कोहि माईनस हुनेछन् ।
मान्यवर
यो हो राजनीति हिसाब ।
हिसाब हुनेछ खातामा
निसाब हुनेछ जातमा
गरीबीको एकतामा खण्डिकरण गराइनेछ
शक्तिमा प्रतिशत खोजिनेछन ।
मान्यवर
यो हो राजनीति हिसाब।
मारेर घटाउने षडयन्त्र बुनिनेछ
जन्माएर बढाउने पासा फ्याँकिनेछ
जति मर्यो उति बढ्ने
काटमारको खेती गरिनेछ।
मान्यवर
यो हो राजनीति हिसाब।
जति गरिबी बढ्यो उति ब्यबसाय सप्रीनेछ
जति भोकमरी चल्यो उति संगठन बढ्नेछ
टुटफुटमा पनि भाग हुनेछ
खण्डिकरणमा पनि जोड हुनेछ।
मान्यवर
यो हो राजनिती हिसाब।
कहिले एउटै परिधिभित्र बक्र रेखा कोरिनेछ
कहिले एंगल कहिले सरल कोरिनेछ
वक्ररेखाको झुपडी भित्र
एक थोपा आँसु घटाउँदा दुई भोट थपिनेछ
मान्यवर
यो हो राजनीति हिसाब।
दिएर नथाक्ने लिएर नपुग्ने
रिति बसाइनेछ
नेता अनुदानमा जनता राहतमा
थिती बसाइनेछ
परनिर्भरताको खास्टो भित्र क्रान्ती भन्दै चिच्याइनेछ
मान्यवर
यो हो राजनीति हिसाब।
यो हो राजनीति हिसाब।
- रामचन्द्र तिम्सिना (आवाज)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology