रेशम अधिकारी, रुपन्देही । केही दिनयता रुपन्देही अत्यधिक गर्मी बढ्दै गइरहेको छ । अध्यधिक गर्मीबाट यहाँको जनजीवनमा प्रत्यक्ष प्रभाव परेको छ । रुपन्देहीमा शुक्रबार ४१ दशमलव ८ डिग्री सेन्टीग्रेड तापक्रम मापन गरिएको थियो । गर्मी याममा गर्मीको महसुस गर्नु सामान्य भए पनि यसपाली भने गर्मीका कारण कार्य सम्पादन गर्नसमेत असहज हुँदै गएको सर्वसाधारणको भनाइ रहेको छ ।
गर्मीका कारण विशेष गरी बाहिरी घाममा काम गर्नेहरुलाई बढी प्रभाव परेको छ । निर्माण व्यवसायीको काम गर्ने स्थानीय जुठे थारुले दिउँसो हुने अत्यधिक गर्मीले काममा असर पुगेको बताए ।
‘दिउँसो घाम चर्किएर असाध्यै गर्मी हुन्छ’ उनले भने, ‘गर्मीका कारण काम पूरै ठप्प छ । कहिलेकाहीँ बिहान बेलुकामा काम गर्न सकिन्छ । नत्र दिउँसोमा त काम गर्न नसकिने अवस्था भइसक्यो ।’
चर्को घामले गर्मी र तातो हावाले आँखा पोल्ने समस्या देखिन थालेको उनी बताउँछन् ।
जलवायु परिवर्तनका कारण यो वर्ष समयभन्दा पहिले नै अत्याधिक गर्मीको महशुस गरिएको विज्ञहरु बताउँछन् । रुपन्देहीमा अझै केही दिन पानी नपर्ने मौसमविद्हरुको भनाइ छ । जस कारण यहाँ थप गर्मी बढ्ने सम्भावना छ ।
वैशाख महिना सुरू भएसँगै समयदेखि नै बिहानैबाट गर्मीको महशुस हुन थालेको बताउँछिन् देवदह आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा धनी कुमारी पन्थी। गर्मीका कारण कलेज जानसमेत समस्या हुन थालेको उनको भनाइ छ । ‘अहिले नै यस्तो गर्मी महशुस गरिएको छ’ उनले भनिन्, ‘झनै असारमा कति गर्मी हुने हो । गर्मीकै कारण मरिन्छ कि क्या हो ?’
गर्मीका कारण बजारमा मानिसहरुको चहलपहल पनि कम भएको छ । प्रायः मानिसहरु बेलुकाको समयमा बजारतिर जाने गरेका छन् । दिउँसोको समयमा बजारमा किनमेलको लागि निस्किएकी देवदहकि कमला अर्याल एकैछिनमा पसिनाले निथ्रुक्क भिजेको सुनाइन् ।
उनी भन्छिन्, ‘दिउँसोमा त बजार घुम्न निस्कन नसकिने रहेछ । बजारमा यसो किनमेल गरौँ भनेर निस्केको गर्मीले गर्दा ‘फेन्ट’ नै भइएला जस्तो भयो ।’ गर्मी बढ्दै गए बाँच्नै गाह्रो हुने उनको भनाइ थियो ।
गर्मीमा बढी मेहेनत गर्नेहरुलाई शरीरबाट बढी पसिना निष्कासन भएमा लु लाग्ने खतरा रहेको डाक्टर रोजन केसीले बताए ।
‘गर्मीयाममा वातावरणको तापक्रम बढ्नुको साथसाथै शरीरको तापक्रम पनि बढ्छ’ डा. केसीले भने, ‘यसले शरीरको अंगहरुमा असर गर्दछ र गर्मीका कारण शरीरमा पानीको मात्रा कम हुन्छ । यसबाट शरीरको र वातावरणको तापक्रममा असन्तुलन आएर लु लाग्न सक्ने सम्भावना हुन्छ ।’
लु लागेमा मानिसको ज्यान पनि जान सक्ने डा. को भनाइ छ । लु लाग्नबाट बच्नको लागि बाहिर घाममा काम गर्नेहरुले बिहान तथा बेलुकाको समयमा काम गर्न डा. केसीले सुझाव दिए । गर्मीयाम लागेसँगै संक्रमण बढ्ने जोखिम पनि उत्तिकै रहेको उनले बताए । गर्मी याममा झाडापखाला, हैजा, विषम ज्वरोजस्ता दूषित खाना र पानीबाट लाग्ने रोगको संक्रमण बढ्न सक्ने उनको भनाइ छ ।
गर्मीयाममा घाममा हिँड्दा छाता प्रयोग गर्ने, शीतल ठाउँमा बस्ने तथा पर्याप्त मात्रामा झोलिलो पदार्थको सेवन गर्नु उत्तिकै आवश्यक रहेको चिकित्सकहरुको सुझाव रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology