नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले महोत्तरीमा जनश्रमदान गरेर धान रोपाइँ गरेका छन्। बर्दिबास नगरपालिका- ६ चौलिखाका शेरबहादुर बुर्जा, तेजु बुर्जासहितका किसानको झण्डै तीन विघा खेतमा धान रोपिएको पार्टीका महोत्तरी सेक्रेटरी पवन महतोले जानकारी दिए।
रोपाइँ कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य देव नारायण साह, युवा संगठनका महोत्तरी अध्यक्ष तिलक लामा लगायतको सहभागीता थियो। ‘हाम्रो रोपाइँ अभियानमा स्थानीयले पनि सक्रियतापूर्वक सहभागिता जनाउनु भएको छ,’ महतोले भने, ‘अझै केही किसानको धान रोप्ने तयारी हामी गरिरहेका छौँ।’
उनले पार्टीका १५ जना कार्यकर्ता रोपाइँ कार्यक्रममा सहभागी भएको जानकारी दिए। ‘हामीलाई सम्बन्धित जग्गा धनी किसानले खाने बस्ने व्यवस्था गरिदिनुहुन्छ। हाम्रो टोलीले उहाँहरुको खेतमा गएर निःशुल्क धान रोपिदिन्छ,’ उनले भने। केही किसानको आफूहरुले मकै पनि गोडिदिएको महतोले बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology