हाँस्दै गरेको पहाड फोरियो
नाँच्दै गरेको जंगल फाडियो
साच्चै हो साथी
भत्काइयो सुस्ताउने चौतारी अनि
थुनियो कलकल बग्ने खोलीहरु
त्यसैले त आजभोलि
सुनिदैन झरनाको मन्त्रमुग्ध ध्वनीहरु ।
सुनिदैन कहिँ कतै न्याउलीका विरही भाकाहरु
देखिदैन कहिँ कतै हरिणका बथानहरु ।
साच्चै हो साथी
देखिन्छ जतिसुकै बाँदरका लस्करहरु
सुनिन्छ त केवल गाडीका हरन र नेताका साइरनहरु
भेटिन्छ त केवल भटभटेका लामालामा लाइनहरु ।
सुकसुकाउँदैछ मसिहरु
पिलपिलाउँदैछन लयहरु ।
साच्चै हो साथी
प्रकृतिको विनाससंगै यो कवि पनि रोइरहेको छ
त्यसैले त आजभोलि
रुँदैछन शब्दहरु
रोयो कलम र अक्षरहरु ।
मानवता मर्दैछ न्याय हराउँदैछ
सोझो मासिदैछ बांगो टुसाउँदैछ ।
साच्चै हो साथी
मैले बर्शौं भयो विरोध गर्न छाडेको
त्यसैले त आजभोलि
यो कवि बहुलाएको छ
संरक्षणको नाममा सदियौं पुरानो पोखरी भत्काइदैछ
रातारात कंक्रीटको पर्खाल ठड्याइदैछ ।
खान नपाएर छोरो बिदेश जान्छ
मोबाईल पठाउँदै स्वास्नीलाई भन्छ
प्यारी खेती गर्नुपर्दैन
म पैसा पठाउँछु तिमी भिडियो कल गर
साच्चै हो साथी
यो कवि बहुलाएको त्यसै होईन
खेती गर्दै आमा गाउँमा बस्छिन
छोरो खेलाउँदै स्वास्नी शहर पस्छिन ।
खेल्दैनन खोलीमा माछाहरु
नाच्दैनन वनमा मयुरहरु
साच्चै हो साथी
फल्दैन ओखती नहाले धानहरु
लाग्दैन चिचिला भिटामिन नहाले फलहरु ।
त्यसैले त आजभोलि
यो कवि बहुलाएको छ ।
अनेकानेक रोग बढेका छन्
टुसाउन नपाई मान्छेहरु भुतुभुतु मरेका छन् ।
- रामचन्द्र तिम्सिना (आवाज)
म्यागङ ५ सामरी,नुवाकोट
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology