काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदो असोजको पहिलो साता संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क जाने भएका छन् । न्युयोर्कबाट उनी सिधैं चीन जानेछन् ।
संयुक्त राष्ट्रसंघको ७८औँ महासभा भदौ ६ गतेदेखि सुरु हुनेछ । महासभामा उच्चस्तरीय पाहुनाको सम्बोधन असोज २ गतेदेखि सुरु हुने जनाइएको छ । प्रधानमन्त्री प्रचण्डले असोज ५ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र स्रोतले जनाएको छ ।
यसअघि, राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने समय र चीन भ्रमणको मिति जुधेकाले कता जाने भन्नेमा अन्योल थियो । नेपालले गरेको अनुरोधलाई राष्ट्रसंघको मुख्यालयले स्वीकार गर्दै असोज ५ गते निर्धारित सम्बोधनको समयलाई एक दिनअघि अर्थात् असोज ४ गते सारिदिएपछि दुवैतिर जान सम्भव भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
स्रोेतका अनुसार न्युयोर्कमा कार्यक्रम सकेपछि चीनको हन्जाउमा (असोज ६ देखि २१ गतेसम्म) हुने १९औँ एसियन खेलको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जानेछन् । सियन खेलको उद्घाटन चीनका राष्ट्रपति एवं प्रधानमन्त्रीमध्ये एकजनाले गर्नेछन् ।
एसियन खेल समारोहमा सहभागी भएपछि प्रधानमन्त्री प्रचण्ड बेइजिङ जानेछन् । बेइजिङमा उनले चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता र चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । बेइजिङमा उनले चिनियाँ कम्युनिस्ट पार्टीका अरू नेताहरूसँग पनि भेटवार्ता गर्नेछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology