काठमाडौ । एसिया कप क्रिकेट अन्तर्गत आज नेपाल र भारत खेल्दैछन । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको करिब २७ वर्षपछि सिनियर टोलीमा नेपालले भारतसँग पहिलो पटक खेल्ने मौका पाएको हो ।
श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा आज दिउसो हुने समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल र भारतबीचको खेलमा नेपालले जिते नेपाल सुपर फोरमा पुग्ने छ । अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ । आजको बिजेता टोली एसिया कपको सुपर फोरमा पुग्ने दोस्रो टोली हुनेछ । समूह ‘ए’ मा रहेको पाकिस्तान भने सुपर फोरमा पुगिसकेको छ ।
एसिया कपमा नेपालको यो पहिलो सहभागिता पनि हो । नेपालले सन् २०१७ मा भने भारतको यू–१९ टोलीसँग खेलेको थियो । मलेसियामा भएको उक्त यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक नतिजा हात पारेको थियो ।
यसअघि एसिया कप अन्तर्गतको पहिलो खेलमा नेपाल, एक दिवसीय क्रीकेटमा विश्व नम्बर १ टोली पाकिस्तानसँग दुई सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
समूह ‘बी’मा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउनेछन् । सुपर फोरबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुल्शन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology