काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले मुलुकमा आतंककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको आरोप लगाएका छन ।
अध्यक्ष ओलीले काँग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको घटना र ताप्लेजुङमा डिएसपीसहित उनको परिवारलाई मार्छु भन्ने धम्की दिनेलाई नियन्त्रणमा नलिएर सरकारले आतंककारी गतिविधिलाई प्रोत्साहित गरिरहेको बताएका हुन ।
आतंकारीहरुलाई, असामाजिक, अमानवीय, असंवैधानिक, गैरकानूनी क्रियाकलापमा साथ दिन्न भनेर डिएसपी राजन राईले भनेपछि त्यसलाई सहन नसकेर उनी र उनको परिवारलाई ज्यान मार्ने धम्की दिनेहरुलाई सरकारले किन पक्राउ नगरेको ? भनि प्रश्न समेत गरे । पार्टी केन्द्रिय कार्यालय च्यासलमा तेजावबिरुद्ध आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने एक हप्ता अघि नै खुकुरी हान्छु भन्नेलाई सरकारले नियन्त्रणमा नलिँदा काँग्रेस नेतामाथि खुकुरी प्रहार भएको भन्दै त्यस्ता कुरालाई बेलैमा नियन्त्रण नगरेको भन्दै सरकारको आलोचना गरे । काट्छु, मार्छु भनेर समाजमा विद्वेष फैल्याउनेहरुलाई पनि नियन्त्रणमा नलिएर सरकारले तमासा देखाइरहेको ओलीको भनाई थियो ।
अध्यक्ष ओलीले जघन्य अपराध गरेकाहरुलाई उन्मुक्ति नदिन आफू नेतृत्वको सरकारले तेजाव आक्रमणविरुद्ध कडा कानून निर्माण गर्नुपरेको बताए । उनले तेजाव आक्रमण बिरुद्ध जागरण अभियान सञ्चालन गर्ने र हिंसा बिरुद्धको अभियानमा साथ दिन सञ्चारकर्मीहरुलाई पनि पटकपटक आग्रह गरे । नेपालमा जातको नाममा, भाषाको नाममा, सम्प्रदायका नाममा, विभिन्न आस्थाका नाममा अनेक ढंगले द्वन्द्व र अस्थिरता मच्चाउन खोजिएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसो हुन नदिने गरी जनचेतना फैल्याउने काममा सञ्चारमाध्यामहरु लाग्नुपर्ने बताए ।
अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले सामाजिक जागरणको क्षेत्रमा महत्वपूर्ण काम गरेको दावी गर्दै त्यसलाई निरन्तरता दिन सरकारलाई दबाब समेत दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology