काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ । एमाले कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान अधिवेशन र पार्टीको निर्देशन अवज्ञा गर्ने नेतामाथि कारबाहीका सन्दर्भमा छलफल हुने छ ।
एमालेले यही साउन २५ देखि २७ सम्म विधान अधिवेशन गर्दै छ । केन्द्रीय कमिटी बैठकले साउन २५ देखि २७ सम्म विधान अधिवेशन गर्ने निर्णय गरेको थियो ।
यस्तै आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा विपक्षीमा मतदान गर्न एमाले निर्देशन दिएको थियो । तर एमालेका ३३ जना सांसदले पार्टी ह्वीप उलङ्घन गरेका थिए । जसमा २२ जनाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका छन् ।
यसबारे तामाङले भने, ‘पार्टी पद्धति, पार्टी विधान र पार्टीको अनुशासन उल्लङ्घनसँग जोडेर कारबाही गर्छौँ ।’ विश्वासको मत दिएकै कुरालाई कारबाहीको विषय बनाउन नपाइने सर्वोच्च अदालतको फैसला रहेका पार्टीको अनुशासन कारबाही गरिने उनको भनाइ छ ।
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको विषयमा कारबाही नभए पनि कारबाहीका अन्य विषय पनि रहेको तामाङले बताए । ‘विश्वासको मत दिएको विषयमा सांसद पद खारेज नहोला । तर अन्य विषयमा कारबाही हुन्छ । सांसद पद पनि जान्छ । आजको बैठकले प्रक्रिया पुर्याएर अगाडि बढ्छौँ,’ उनले भने ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology