राजेश पराजुली, पोखरा | पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक सञ्जालमा भइरहेको संघीयता विरोधी टिकाटिप्पणीप्रति आक्रोश व्यक्त गरेका छन् । उनले राजा फालेको मन नपराउनेले संघीयताप्रति असन्तोष व्यक्त गरिरहेको बताए ।
सबै कानुन बन्दा पनि परिपक्व बन्न नसके बल्ल संघीयताको औचित्यमाथि प्रश्न उठाउनु जायज हुने उनको भनाइ थियो । ‘राजा फालेको मन नपराउने धेरै छन् नि । धेरै छन् यहाँ पूराना पञ्चहरु जो राजाको भक्तिभाव गाएर आफ्नो दुनो सोजाउँथे’ उनले भने, ‘तिनै मान्छेले गरेका क्रियाकलाप बुझेर या नबुझेर प्रभावित बनाउने प्रयत्न भाको छ । केही संगठित गर्ने प्रयत्न भाको छ ।’
उनले कति जना मान्छेले फेसकुबमा लेखेपछि व्यवस्था परिवर्तन हुन्छ भन्दै प्रश्न तेर्साए । लाखौं लाखौं मान्छेले आन्दोलन गरेर ल्याएको व्यवस्थालाई परिवर्तन गर्न नहुने उनको भनाइ थियो ।
उनले १९÷२० जनाले आन्दोलन गर्दैमा व्यवस्था परिवर्तन नहुने बताए । ‘अस्ति गण्डकीमा पनि व्यवस्था विरोधी आवाज उठे । के छ । रिपोर्ट भनेर सोधेको पहिलो दिन १९ जना दोस्रो दिन १७ जना थिए । अब यी व्यक्तिले माग्दैमा व्यवस्था परिर्वतन गर्ने ?’ उनको प्रश्न थियो । उनले यो व्यवस्थालाई उल्ट्याउने भन्दा व्यवस्थाका पक्षमा जनमत धेरै भएको उनको दाबी छ ।
मुख्यमन्त्री पाण्डेले बुधबार पोखरामा भएको गण्डकी प्रदेशमा मानव अधिकार र सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनका अवस्थाका विषयको अन्तरक्रियामा संघीयता बलियो हुन अझ केही समय लाग्ने स्पष्ट पारे । उनले जनताले चुनेको जनप्रतिनिधिलाई राजाको संज्ञा दिएको प्रति आपत्ति जनाए । राजावादीलाई जनताले छानेको जनप्रतिनिधि चित्त नबुझेको उल्लेख गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology