स्याङ्जाको रापकोट गाउँको एउटा घरको बलेनीमा सधै रेडियो झुन्डिरहेको हुन्छ । रेडियोमा बज्ने सबै लोक गीत उनी सुन्छन् । गीत सुन्दासुन्दै उनी लोकगीतको प्रेममा यसरी डुब्छन् कि उनमा गायक बन्ने सपना पलाउछ । त्यही सपनाले उनलाई काठमाडौंसम्म पूर्याउछ, गीत निकाल्छन् । आज उनी जीवनको खुसी किन्न सात समुन्द्रपारि पुगेका छन् तर उनको मन भने नेपाली गीत संगीतमै छ । यसरी बाध्यताले देश छोडेपनि, नेपाली गीतसंगीत नछोडेका व्यक्ति हुन् - कृष्ण काफ्ले ।
स्याङ्जाको साबिक रापकोट गाउँमा आमा टीका काफ्ले र बुवा महेश्वर काफ्लेको तीन सन्तानमध्य माइलो सन्तानको रुपमा २०३८ कार्तिक ४ मा कृष्णको जन्मभयो । उनले गाउमै माध्यमिक तहसम्मको शिक्षा हासिल गरे । ०५६ सालमा एसएलसी उतिर्ण गरि कृष्ण गायक बन्न काठमाडौं हानिए ।
रेडियोमा सुनेका गीतको प्रभाव, साथीभाइहरूको उक्साहट र आफ्नै सपनाले उनी राजधानीमै गीतसंगीतको क्षेत्रमा भविष्य खोज्न थाले । आफ्नो भविष्य खोज्दाखोज्दै उनले हजारौं 'कृष्ण'हरू भविष्यको खोजीमा भौतारिएको पनि आफ्नै आखाँले देखे ।
काठमाडौ बस्दा उनको गीत संगीतप्रतीको मोह झनै बढ्दै गयो । रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र पोखराबाट नयाँ प्रतिभाकालागि देउराली कार्यक्रम प्रस्तुत हुन्थ्यो । कृष्ण त्यो कार्यक्रममा सहभागी भए । सो कार्यक्रमका निर्णायक लोक गायक पुरुषोतम न्यौपानेले कृष्णको आबाज सुनेपछि उनको आवाज मीठो रहेको र अझै राम्रो गर्नु भनेर सुझाब दिए । न्यौपानेको त्यो सुझाब कृष्णकालागी प्रेरणा बन्यो र उनी गीत रेकर्ड गर्नतर्फ लागे ।
कृष्ण बालजु माछापोखरीस्थित झरना संगीत रेकर्डिङ स्टुडियोमा पुगे । जुन स्टुडियोका संन्चालक थिए, स्वर्गीय रत्न बानियाँ । उनले बानियालाई परदेश जानुअघि गीत रेकर्ड गर्ने सपना सुनाए । विदेश जादै गरेका कृष्णको संगीतप्रतिको लगाव देखेर बानियाँ धेरै अचम्मित र अलिकति खुशी भए ।
कृष्णले आफ्नै गाउँ स्याङ्जा रापकोटमा गुरुङ समुदायको रोधी बस्दा गाइने सालैजो भाकामा रहेको गीत बानियाँलाई सुनाए । प्रतिक्रिया सकारात्मक आयो । कृष्णको सालैजो गीतमा पुरुषतर्फ स्वर्गीय रत्न बानिया र कृष्णले श्वर दिए भने महिला तर्फ बिमाकुमारी दुरा र सुर्य कुमारी गुरुङको स्वर रह्यो । गीत तयार भयो उत्पादन तथा बितरण झरना संगीतले म्युजिक प्रालिले नै गर्यो । कृष्ण भन्छन्, "त्यो बेला केही सिमित गायक गायिका चलनचल्तिमा हुनुहुन्थ्यो, गीत रेकर्डिङ सजिलो थिएन । अझ भनौं स्टुडियो छिर्न पनि बढो मुस्किल पर्थ्यो" उनी थप्छन "अहिले जस्तो जो पनि जस्तो पनि स्टुडियो छिर्यो गायो, पैसा भए सबै गायक, सबै नायक त्यस्तो थिएन ।"
गीत बजारमा, कृष्ण मलेसिया
कृष्णलाई काठमाडौं आफैमा बिरानो सहर, लामो समयसंग टिक्न सहज छैन भन्ने लाग्यो । सपनाको सहर राजधानी आएका कृष्ण आफ्नो पहिलो गीत रेकर्ड गरेर स्याङ्जा फर्किए । वि स २०५७ सालको बैशाखमा उनको "रापाकोटैमाथि पालेको बन ढुकुर बस्यो ढकमक्कै, हितैको माया झ्याप्पै भेट हुदा परे म त अकमक्कै" बोलको सालैजो गित बजारमा आयो ।
काठमाडौं हुदा नै उनले वैदेशिक रोजगारीकालागि एक मेनपावरमा आवेदन दिएका थिए । कस्तो संयोग कृष्णको पहिलो गीत बजारमा आउनसाथ यता मलेसियाको भिसा आयो । उनी खुशी नै थिए । तत्कालीन अवस्थामा उनलाई मलेसियाको भिजा लाग्दा अमेरिका, अस्ट्रेलिया कै भिसा लागे जस्तो महसुस भयो । गीत बजारसम्म आउदा कति खर्च लाग्यो त्यो अन्दाज नभएपनी गीतको रोयल्टीले दुई महिनामा ५ पाँच हजार रकम उनले झरना स्टुडियोबाट पाए ।
उनको मलेसियाको भिसा आइसकेको थियो । एकातिर गायक बन्ने सपना, अर्कोतिर पारिवारिक जिम्मेवारी । कृष्णले जिम्मेवारीलाई प्राथमिकतामा राखे । असारको महिना, बाहिर झरी परिरहेको थियो । त्यही झरीमा ओत लाग्दै २०५७ साल असार २१ गते कृष्ण मलेसिया उडे । यसरी राजधानीमा आफ्नो सपना खोज्न आएका कृष्ण अन्ततः आफै मलेसिया तिर हराए ।
देश छोडे तर संगीत छोड्न सकेनन्
जिन्दगीका कतिपय लयहरु यसै बिलय भएपनि संगीतलाई साथी बनाएका कृष्ण सांगीतिक जीवनबाट टाढिँन सकेनन् । उनको गीतसंगीतको भोक मेटिएन । उनको तन परदेशमा थियो, मन नेपाली संगीतमा । डिउटी समय सकिने बित्तिकै उनी गीत लेख्न बसी हाल्थे । संगीतप्रतिको हुटहुटि र अथाह प्रेम मनमा संगालेका उनी मलेसियामा ४ वर्ष बिताएर २०६० सालमा कृष्ण बिदामा नेपाल आए । परिवार आफन्तलाई भेटेर फेरि निस्किए राजधानी गीत रेकर्ड गर्न । उनको दोस्रो गीत बन्यो स्याङ्जा बजारमा । गीत मौलिक भएता पनि ओझेलमा पर्दा उनको मन खिन्न भयो तर हार मान्न उनी तयार थिएनन् ।
१७ वर्ष मलेसिया बसेका उनी प्रत्येक बिदामा आउदा लोकदोहोरी एल्बम निरन्तर निकाली रहे । संगीत कृष्णको नशा बन्यो । उनले संगीतबाट केही आशा राखेनन् मात्र निरन्तर साधना गरिरहे ।
सालैजो गीतबाट नेपाली गीत संगीतको बजारमा पाइला टेकेका कृष्णको स्याङ्जा बजारमा, परदेशी हुनाले, देउन आशिर्वाद, एउटा चिनो छ, जाम कि नजाम भो, पिर, हुँदै अहिले नौमती बाजा सहित लगन जुरेको आउने क्रममा रहेको उनी बताउँछन् । उनी भन्छन् "गीत रेकर्डिङमा लाखौं रुपैयाँ सकेको छु । मलाई आत्मसन्तुष्टि मिलेको छ । अरु केहि आश छैन, पैसा त हातको मैला न हो ।"
२०६४ सालमा वैवाहिक जीवनमा बाधिएपछी उनको जिम्मेवारी थप बढ्यो । दुई सन्तानको बुबा बनेपछि कृष्ण जन्मथलो स्याङ्जा छोडेर पश्चिम् नवलपरासीको सुनवल बस्दै आएका छ्न् । कृष्णको जिन्दगी आधा समय परदेश र घरदेश आउदा जादा बितिसकेको उनीले महसुस गरेका छ्न। उनको संगीतप्रतीको लगावलाई सधै साथ दिने उनकी श्रीमती सिर्जनाको साथ बिना सांगीतिक यात्रा सफल नहुने उनी बताउछन् । गीत गाउदा भिडियो छायांकन गर्दा लाखौ खर्च हुने, खर्च धेरैभएका कारण लगानीको कमि हुने जसका कारण मौलिक गीत ओझेलमा पर्ने गरेको उनको बुझाई छ ।
अहिले गीतसंगीतमा व्यापक परिवर्तन आएको देख्छन्, उनी । अहिले समय बदलिएको र पछिल्लो समय गीतसंगीतले स्रष्टा, सर्जक र कलाकारहरूलाई सोच्न बाध्य बनाएको उनी बताउँछन्। गीतलाई ‘भाइरल’ बनाउने होडबाजीले नेपाली संगीतको मर्म मर्दै गएको उनको बुझाई छ । नेपाली संगीतले सदाबहार गीत नपाउनुको मुख्य कारक नै ‘भाइरल’ हुने होड रहेको उनको दाबी छ । "क्षणिक समयका लागि ‘भाइरल’ बनाउनका लागि बनाइएका गीतहरू सुपरहिट होलान तर दीर्घकालिन हुँदैन्", उनी भन्छन् "केही दिनमा नै तुरुन्तै अर्को गीत आउँछ, त्यसलाई दर्शकले बिर्सिन्छन्।"
सर्जकले सिर्जना गर्दा ‘हिट’ बनाउन मात्रै होइन दर्शकलाई महसुस गराउने सिर्जना हुनुपर्ने उनको भनाइ छ। पछिल्लो समय सांगीतिक क्षेत्रमा पैसाले गायक गायिका हुनेहरूको भीड बढेको उनी देख्छन् । "आवाजलाई साधना र अभ्यासले भन्दा पनि प्रविधिको प्रयोग गरेर गीत गाउन सक्ने बाटो बनेको छ, जसले गर्दा राम्रा कलाकारहरू छायाँमा परेका छन, उनले भने ।
लामो वैदेशिक दौडधुपपछि करिव ३ वर्ष कृष्ण नेपाल आए र घरमा बसे तर देशको दिन प्रतिदिनको खस्केको अर्थतन्त्र र युवा पलायनले उनको देशमै केही गर्ने जोस हरायो । हाल उनी क्रोसियामा छ्न् । थाहा छैन, अझै कति घरदेश र परदेशको यात्रा उनले गर्न पर्ने हो तर उनी हार खाने मुडमा छैनन् । अहिलेपनि कृष्ण साँझ-बिहान संगीतमा डुब्छ्न् । आफूलाई संगीतको विद्यार्थी मान्छ्न्। संगीतको गहराईमा पुगेर उनलाई अझै धेरै सिक्नु छ। संगीत सिकेर, गाएर र बुझेर पुगेको छैन ।
कृष्णको सांगीतिक जीवनले उडान भरोस्, हाम्रो शुभकामना ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology