बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रिय औद्योगिकरण र आर्थिक सुदृढिकरण अहिलेको आवश्यकता रहेको बताएका छन् । १७औँ गणतन्त्र दिवसमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शेरचनले राष्ट्रियता, जनजिविका र जनतन्त्रको उच्चतम उपयोग गर्न राष्ट्रिय औद्योगिकरण र आर्थिक सुदृढिकरण अहिलेको आवश्यकता रहेको बताएका हुन् ।
"औद्योगिक विकाससहित सबै पक्षको समानुपातिक विकास अहिलेको आवश्यकता हो ।" शुभकामना सन्देशमा भनिएको छ, "जनताको बलमा प्राप्त भएको गणतन्त्रले संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशीतासहित जनताका अधिकारहरूलाई मौलिक हकको रूपमा संविधानमा व्यवस्थापन गरिएका छन् । नागरिकले यी अधिकारको समुचित उपयोग गर्न र संविधान अनुरूप आफ्ना कर्तव्यहरूको पालना गर्न सक्नु पर्दछ ।"
जनसंघर्ष, जनयुद्ध र र जनआन्दोलनबाट परिवर्तन आएको उल्लेख गर्दै प्रदेश प्रमुख शेरचनले सहिद परिवार, घाइते र बेपत्ता योद्धाले न्याय पाउनुपर्ने बताएका छन् । योजनाबद्ध विकासबाट मात्र नेपालको सक्षम जनशक्ति र जनताले प्रगतिको अनुभूति गर्न सक्ने उनको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology