राजेश पराजुली, पोखरा । वर्षाका कारण पहिरो जाँदा गण्डकी प्रदेशका स्याङ्जा, तनहुँ र पर्वतमा १० जनाको मृत्यु भएको छ ।
पहिरोमा परेर शनिबार स्याङजामा ३, पर्वतमा २ र तनहुँमा २ जना गरे ७ जनाको मृत्यु भएको थियो भने ३ जना बेपत्ता भएका थिए । बेपत्ताको आइतबार शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
पहिरोमा परेर स्याङ्जाको बिरुवा गाउँपालिकामा ३ जनाको मृत्यु भएको छ । बिरुवा गाउँपालिका वडा ६, लामाखेतका ईश्वरी लम्सालको घर शनिबार दिउँसो पहिरोले पुरेको थियो ।
पहिरोमा परी ज्यान गुमाउनेमा बिरुवा गाउँपालिका वडा ६, माझकोटकी ६५ वर्षीया गुहेश्वरी शर्मा मरासिनी, ६७ वर्षीया हरिमाया शर्मा, माझकोटका ७१ वर्षीय माधव शर्मा रहेका छन् । स्याङ्जाको भीरकोट–५ ज्यामिरेमा पहिरामा पुरिएर बेपत्ता भएकी ७३ वर्षीया ख्यामकुमारी मल्लको शव आइतबार भेटिएको छ ।
त्यसै गरी तनहुँमा पहिरोले घर बगाउँदा ३ जनाको ज्यान गएको छ । शुक्लागण्डकी नगरपालिका ७ काउरेकी हिरा नेपाली र सुनमाया कुमालको घरको सामान सार्ने क्रममा आएको पहिरोमा तीन जनाको मृत्यु भएको हो । ४० वर्षिया हिरा नेपाली, ३७ वर्षिया अनिशा बास्तोला र ६५ वर्षका श्याम भण्डारीको मृत्यु भएको हो ।
अविरल वर्षाका कारण पर्वतमा पहिरोले २ जनाको मृत्यु भएको छ । फलेवास नगरपालिका १ कार्कीनेटामा कुलप्रसाद पाध्याको गोठमा पहिरो झरेको थियो । भैँसीबाख्रा उद्धार गर्न जाँदा स्थानीय ४० वर्षका झलकप्रसाद शर्मा र आँधिखोला गाउँपालिका ३ का ३३ वर्षीय तुलसी प्रसाद शर्माको मृत्यु भएको हो । उनीहरुको आज पोखराको सेती नदीमा अन्त्यटि भएको छ ।
वर्षा याम शुरु भएपछि गण्डकी प्रदेशमा २२ जनाले ज्यान गुमाएको गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पहिरोका कारण ठाउँ ठाउँमा पहिरो जादाँ राजमार्गहरुमा पनि अवरोध भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology