बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनकाे शिलान्यास गरिएको छ । शनिबार एक कार्यक्रमबीच नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भवनको शिल्यान्यास गरे ।
६ अर्ब १८ कराेड बढिकाे लागतमा निर्माण हुने अस्पताल लुम्बिनी प्रदेशकाे ड्रिम प्राेजेक्टकाे रुपमा रहेकाे छ । प्रदेश सरकारकाे चार वटा गाैरवकाे आयाेजना मध्ये लुम्बिनी प्रादेशिक अस्पताल निर्माण महत्त्वपूर्ण आयाेजनाकाे रुपमा रहेकाे छ ।
अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको छ । लुम्बिनी प्रदेश मातहत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनी आशिष रेलिगशनसँग संयुक्त रूपमा काम गर्ने गरी २०८० पुस २६ गते सम्झौता गरेको थियो ।
सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पाेख्रेलले जानकारी दिए ।
भवन निर्माणका लागि जग खन्न ७० प्रतिशत बढी पाइलिङ (जमिनमा मेशिनले प्वाल पारेर पिल्लर गाड्ने काम) सम्पन्न भइसकेको छ । कूल ७८५ वटा पाइलिङ गर्नु पर्नेमा ४९० पाइलिङ सम्पन्न भएको छ । वरीपरीका संरचनामा क्षति हुनबाट रोक्नका लागि १३ मिटर गहिरो पाइलिङ गरेर भवनको जग खन्ने काम गरिने छ । हाल ६५ जना कामदारबाट कम्तिमा दैनिक १० घण्टाका दरले काम भैरहेको जनाइएको छ ।
अस्पतालको नयाँ बन्ने भवनको डीपीआर अनुसार अत्याधुनिक भवनमा बहिरङ्ग सेवा (ओपिडी), आपतकालीन सेवा (इमर्जेन्सी), इनडोर सर्भिस कक्ष रहनेछन् । ग्याष्ट्रो, न्युरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुने छन् । भवनको माथि हेलिप्याड रहने छ भने हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ । क्यान्सर उपचारका लागि भने अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन बन्नेछ ।
नयाँ भवन निर्माणपछि हाल उपचारका लागि प्रयोगमा रहेका तीन वटा नयाँ भवनमा डाइग्नोष्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बाल रोगको उपचारका लागि प्रयोग गरिने अस्पतालले जनाएको छ ।
हालको संरचनाबाट विस्तार गरि एक हजार दुई सय शैय्यामा बहु-अनुसन्धानात्मक अस्पतालको रुपमा स्तर उन्नति गर्न लागिएको छ । यसै क्रममा पहिलो चरणमा दुई नयाँ भावनाहरु निर्माण गर्न थालिएको छ । जस अन्तर्गत पहिलो २ तहको बेसमेन्ट भएको सात सय क्षमताको १० तले मुख्य भवन, दोश्रो १ तहको बेसमेन्ट र ४ तले १०० शैय्या क्षमताको क्यान्सर (अन्कोलोजी) भवन निर्माण हुनेछ ।
लुम्बिनी प्रदेश सरकार स्थापना भएपछि प्रदेश सरकार मातहतमा आएकाे प्रादेशिक अस्पताल लुम्बिनीकाे स्तर बृद्धि र अत्याधुनिक नयाँ भवन निर्माणकाे प्रयास सुरु भएको थियाे । २०७६ सालमा तत्कालीन सरकारले ड्रिम प्राेजेक्टकाे रुपमा अघि बढाउने प्रक्रिया थालेकाे थियाे । लुम्बिनी प्रदेशका बिरामी बिशेषज्ञ उपचार सेवा लिन काठमाडौं जानुपर्ने बाध्यताकाे अन्त्य गर्नेगरी लुम्बिनी प्रादेशिक अस्पताललाई एक हजार दुई सय र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई ६ सय शैयाको अस्पताल बनाउने प्रक्रिया अघि बढेकाे थियाे । प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालकाे लागि चालू आर्थिक बर्षमा एक अर्ब ८० कराेड बजेट समेत बिनियाेजन गरेकाे छ ।
वि.सं. १९६७ फागुन १५ गते ६ शैय्याबाट सुरू भएको यो अस्पताल लुम्बिनी क्षेत्रकै सबभन्दा पुरानो र ठूलो अस्पताल हो । सेन वंशीय राजा मणिमुकुन्द सेनको दरबार रहेको स्थान बुटवल फूलबारीबाट दुई जना भारतीय चिकित्सकबाट अस्पतालको सेवा सुरू गरिएको थियो । ३१ वर्ष बुटवल फूलबारीबाट सञ्चालन भएको अस्पताललाई १९९८ सालमा हाल रक्तसंचार गृह रहेको स्थानमा सारिएको थियो । हाल रहेको स्थानमा भने २०१६ सालमा भवन निर्माण गरी सारिएको थियो ।
हाल अस्पतालमा ५ सय २० शैय्या पुगेका छन् । दैनिक दुई हजारदेखि २ हजार ५ सयसम्म बिरामीहरू उपचारका लागि आउने अस्पतालमा सामान्य अवस्थामा पनि ७० प्रतिशत बढी बेडहरू बिरामीले भरिने गरेका छन । सरकारी तीन सय र अस्पताल विकास समितिमार्फत् एक सय गरी चार सय बेडको मात्र स्वीकृति पाएको अस्पतालमा बिरामीहरूको अत्यधिक चापका कारण १ सय २४ बेड थप गरी ५ सय २४ बेडबाट बिरामीहरूलाई सेवा प्रदान भइरहेको छ । अस्पतालको नयाँ भवन निर्माण सम्पन्न भई सेवा प्रारम्भ गरेमा बुटवल स्वास्थ्यको हबको रुपमा स्थापित हुन सक्ने अपेक्षा गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology