जीतेर मर्नेहरू भन्दा
हारेर बान्च्नेहरूको अहोदा
उच्च हुने ठाउँमा उभिएर
सुन्दर सपना देख्नेहरू भन्दा
तीनको हत्या गर्नेहरू सधै
सर्बोच हुने ठाउँमा थुनिएर
एकादेशको, एकाकालको
धमिरो लागिसकेको इतिहास पल्टाइरहेछ
क्रान्ति, निस्तो अधिकारको कनिका बुकाइरहेछ ।
जहाँ शहिदको सालिकमा टेकेर
गद्धारहरू मालिक हुन्छन् रातारात
जहाँ नेता भन्नेले सधै
आफ्नै देशलाई हान्छ लात
तिनै भ्रष्टहरूको नवनिर्मित महल पछाडि पल्टिएर
सुशासनको गीत गाइरहेछ
क्रान्ति, आफैलाई अनौठो जीवनको मज्जा चखाइरहेछ ।।
जहाँ साहुको ऋणले थिचिएर
परदेश पसेका युवाबाट
चलिरहेछ देशको ढुकुटी
जहाँ सजिसजाउ बाकसमा
दिनरात ओरालिञ्छन् मान्छेका सुकुटी
त्यहि देशको जिर्ण हवाई अड्डा अगाडि उभिएर
आर्थिक क्रान्ति र समृद्धिको सपना बाढिरहेछ
क्रान्ति, पुषको ठण्डीमा पसिना काडिरहेछ
जहाँ एक ढिका नुन नपाएर
अनिलोले तड्पिनेहरु
हिंस्रक, जंगली र आतंककारी हुन्छन्
जहाँ अरबौं झ्वाम पार्नेहरू
महान् र राजनेता ठहरिन्छन्
त्यहि शासन व्यवस्थाभित्र कैद भएर
गास, बास र कपासका कुरा गरिरहेछ
क्रान्ति, ब्ल्याकहोलमा गिट्टी भरिरहेछ ।।
जहाँ एक छोराको लागि
दर्जनौं स्त्री भ्रुणको हत्या गर्ने/गराउनेहरू
लैंगिक समानता अभियन्ता हुन्छन्
जहाँ एक आना र एक मानाका लागि
दुनियाँ ठग्नेहरू
त्याग र आदर्शका प्रवचन सुनाउछन्
त्यही समाजको एउटा कुनामा कुम्सिएर
आशुका ढिक्का र फिस्स हाँसो एकसाथ बहाइरहेछ
क्रान्ति, आफ्नै शरिर चिमोटी, चिमोटी आफैलाई जगाइरहेछ ।।
हिजो आगो ओकल्ने मुखले
फुस्स गनाउने धुँवा फालिरहदा पनि
दनदन दन्किदै फलामले आगो गालिरहदा पनि
आफै जलेको खरानी ओढेर
आफ्नै दुर्गन्धले नाकमुख थुनिरहेछ
क्रान्ति, न मृत्यु न मुक्तिको मुर्कट्टा जीन्दगी चुनिरहेछ ।।
विष्णु पोखेल
२०७१/०५/१५, बुटवल
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology