राजेश पराजुली, पोखरा । गण्डकी प्रदेशको प्रेस रजिस्टारमा विमला भण्डारी नियुक्त भएकी छन । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई रजिस्टारमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष समेत भण्डारी ४ वर्षका लागि गण्डकीको प्रेस रजिस्टार भएकी छन ।
गण्डकीको पहिलो प्रेस रजिष्टार नियुक्तिका लागि सरकारले गत १६ साउनमा १५ दिनको म्याद दिएर सार्वजनिक सूचना मार्फत दरखास्त आह्वान गरेकोमा ५ जनाको मात्र आवेदन परेको थियो । भण्डारी सहित भरत कोइराला, दुर्गा अधिकारी, भानु पराजुली र सरिता तिम्सिना पगेनीले आवेदन दिएका थिए ।
उम्मेदवारको केही दिनअघि व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणसँगै अन्तर्वार्ता भएको थियो । आर्थिक मामिला मन्त्री एवं सरकारका प्रवक्ता डा. टकराज गुरुङको संयोजकत्वमा गठित ३ सदस्यीय छनोट समितिमा विज्ञ सदस्यको रुपमा अग्रज पत्रकार रवीन्द्र बास्तोला समेत थिए । गण्डकी प्रदेश आमसञ्चार ऐन, २०८० बमोजिम आगामी ४ वर्षका लागि प्रेस रजिष्ट्रार नियुक्ति गरिएको हो ।
कानुनमा प्रेस रजिष्ट्रारका लागि ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेको, मान्यता प्राप्त विश्वविद्यालयबाट पत्रकारिता, आमसञ्चार, सूचना प्रविधि र कानूनमध्ये कुनै एक विषयमा स्नातकोत्तर तह हासिल गरेको, पत्रकारिता, आमसञ्चार, सूचना प्रविधि र कानूनमध्ये कुनै एक विषयमा कम्तीमा १५ वर्षको अनुभव भएको लगायत योग्यता निर्धारण गरिएको थियो । प्रेस जगतलाई अब प्रदेशबाट धेरै कामहरु ह्ुने भएको बताइन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology