बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा स्थापनाका लागि गरिएको प्रयास असफल हुने हो कि भन्ने चिन्ता थपिएको छ । एमआरआई सेवाका लागि विगत ४ वर्षदेखि प्रयासरत अस्पतालले यस बर्ष मेशिन खरिदका लागि बोलपत्र आह्वान गरी प्रक्रिया अगाडि बढाएपनि विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा आएका गलत समाचार र सूचनाका कारण चिन्ता थपिएको अस्पताल प्रशासनले जनाएको छ ।
मेसिन खरिदका लागि टेन्डर आह्वान गरिएपछि उत्पन्न भ्रमबारे स्पष्ट पार्नका लागि अस्पताल प्रशासनले सोमबार पत्रकार सम्मेलन गर्यो । मेशिन खरिदका लागि यही कातिक १ गते बोलपत्र आह्वान गरेको अस्पतालले सम्मेलन मार्फत बजारमा सुनिएका समाचार तथा सूचनाको खण्डन गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै अस्पताल प्रमुख डा इन्द्र ढकालले नेश्नल कम्पिटेटिभ विडिङ ‘एनसीबी’ अनुसार आह्वान गरिएको बोलपत्रमा अधिकतम मुल्य १५ करोड राखिएकोमा सोही मुल्यमै सामान खरिद गरिएको जसरी गलत प्रचार भएको गुनासो गरे । ‘बोलपत्रमा उल्लेख गरिएको रकममा सप्लायर्स कम्पनीहरुले प्रतिस्प्रर्धा मार्फत सबैभन्दा कम मुल्य कबोल गर्ने कम्पनी छनोट भई उसैले खरिद गर्ने हो ।’ ढकालले भने, ‘समान्यतया कम्पनीहरुले २०/२५ प्रतिशतसम्म कम मुल्य कबोल गर्ने प्रचलन रहेको हुँदा हामीले खरिद गर्न लागेको मेशिनको मुल्य पनि कम हुने अनुमान गरेका छौं ।, तर बजारमा गलत हल्ला बढी भयो ।’
सामान आपुर्ति गर्न सक्ने स्वदेशी कम्पनीहरु हुँदाहुँदै एनसिबीमा जान उपयुक्त ठानेर नै आइसिबीमा नगएको समेत उनले प्रष्ट पारे । सार्वजनिक खरिद ऐन अनुसार ५ अर्व बढी लागत मुल्य पर्ने, जटिल सामान भनि ‘पिपिएमओ’ ले सिफारिस गरेका, दातृ निकायको सहयोग तथा स्रोतबाट खरिद गर्नु परेमा तथा स्वदेशी सप्तालयर्स कम्पनीहरुले प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा मात्रै आइसिबीमा जानुपर्ने बाध्यकारी अवस्था रहेको उनले स्पष्ट पारे । यसैगरी विगतका टेन्डरहरुमा आईसिबी विधिबाट जाँदा विश्व बजारमा डरलको भाउ घटबढ हुँदा त्यसको प्रभावले टेन्डर नै रद्द गर्नुपरेको घटनालाई आधार मानेर एनसिबी विधि अपनाएको सो अवसरमा उनले बताए ।

बजारमा फैलाइएको हल्ला जस्तो अस्पतालले अत्यन्तै पुरानो मेशिन खरिद नगर्ने प्रष्ट पार्दै ढकालले विश्व बजारमा हाल आएकाभन्दा केही पुरानो प्रविधिको मेसिन खरिद गर्न खोजिएको उल्लेख गरे । प्रदेश सरकारले उपलब्ध गराएको १५ करोड रुपैंया बजेटबाट नयाँ प्रविधिको मेशिन खरिद गर्न सम्भव नभएकै कारण पुरानो प्रविधिको मेशिन खरिदन गर्नु पर्ने बाध्यता रहेको उनले स्पष्ट पारे । ‘हामीले खरिद गर्ने भनेको पुरानो मेशिन नभई केही पुरानो प्रविधिको भने हो । जुन तेस्ला १.५ प्रविधि हो, यसलाई २ तेस्लामा अपग्रेड गर्न सकिन्छ ।’-प्रमुख ढकालले भने, ‘जबकी विश्व बजारमा ३ तेस्ला पनि आएको छ, यसको मुल्य २५ देखि ३० करोड रुपैंया भन्दा बढी पर्छ । उक्त रकम हामीसँग नभएकै कारण पुरानो प्रविधिले भएपनि सेवा दिनुपर्छ भन्ने हाम्रो चाहना हो ।’
सरकारले प्रयाप्त बजेट उपलब्ध गराएको अवस्थामा आफूहरुले पनि ३ तेस्ला मेशिन खरिद गर्न तयार हुने उनले उल्लेख गरे । खरिद कार्यलाई अझ पारदर्शी र प्रतिस्पर्धी बनाउन सार्वजनिक खरिद अनुगमन कार्यालयमा सम्पूणर् कागजात सहित आवश्यक राय तथा निर्देशनको लागि पठाइने समेत उनले स्पष्ट पारे । त्यहाँबाट प्राप्त निर्देशनका आधारमा थप काम कारबाही अगाडी बढाइने उनले बताए ।
लुम्बिनी प्रदेश सकारको गौरवको आयोजना अन्तर्गत समावेश यस अस्पताललाई १२ सय शै्यामा स्तर वृद्धिका लागि अन्डरग्राउण्डसहित १२ तले अत्याधुनिक भवन निर्माणको काम भैरहेको छ । लुम्बिनी प्रदेशसहित छिमेकी प्रदेशका जिल्लाहरु समेत गरी यहाँ १६ भन्दा बढी जिल्लाका सेवाग्राही आउने गर्दछन् । गत आर्थिक वर्षमा मात्रै यस अस्पतालबाट ३ लाख बढिले स्वास्थ्य सेवा लिएको तथ्याङ्क छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology