अर्घाखाँची । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने कार्यमा नलागेको बताएका छन् । शनिबार सन्धिखर्कमा प्रेस सेन्टर अर्घाखाँचीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पुर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका नेता श्रेष्ठले सरकार नै भ्रष्टाचारीलाई जोगाउन लागिरहेको आरोप लगाए ।
"अहिलेको सरकार भ्रष्टाचारीलाई जोगाउन लागि परेको छ ।" नेता श्रेष्ठले भने, "भ्रष्टाचारको अन्त्य गरि सुशासन कायम गर्ने काम माओवादीले मात्र गर्छ ।" सरकारको आलोचना गर्दै उनले सरकारको नीति र कार्यले जनतामा विश्वास पैदा गर्न नसकेको बताए । "सुशासन र पारदर्शिता लागू गर्न आवश्यक छ, तर अहिलेको सरकारले त्यसतर्फ ध्यान दिइरहेको छैन" पत्रकार सम्मेलनमा उनले भने ।

आफ्नो पार्टी नेतृत्वको सरकारले सुशासनको लागि काम गरेको उल्लेख गर्दै उनले अहिले विपक्षमा रहंदा पार्टीले समाजवादको आधार तय गर्न जागरण अभियान संचालन गरेको दावी गरे । "हामी जहाँ रहेपनि जनता र समाजवादी व्यवस्थाको पक्षमा काम गर्छौं ।" उनले भने, "हिजो पनि भ्रष्टाचार गर्ने व्यक्तिहरूलाई कारवाही गर्न दृढ थियौँ । लोडसेडिङको अन्त्य र मिटरब्याज पीडितलाई न्याय दिलाउने काम पनि माओवादी सरकारले गर्यो । यस्ता कदमले जनतालाई सही दिशा देखाउने कार्य गरेको थियो ।"
नेता श्रेष्ठ भुमिकास्थान नगरपालिकाको नगर अधिबेशन उद्घाटन समारोहमा सहभागी हुन अर्घाखाची आएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology