पोखरा । २४औं आहारारा पोखरा गोल्डकपको उपाधिका विभागीय क्लब नेपाल पुलिस क्लब र उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीवार भएको दोस्रो सेमिफाइनलमा पाँच पटकको विजेता थ्रीस्टारलाई ४–० को फराकिलो अन्तरले हराउँदै ब्ल्याक बुल्स पहिलो सहभागितामै फाइनल पुगेको हो ।
यसअघि भएको पहिलो सेमिफाइनलमा मनाङसँगै सर्वाधिक ६ पटकको च्याम्पियन पुलिसले ए डिभिजन लिग विजेता चर्च ब्वाईजलाई १–० गोल अन्तरले हराएर फाइनल पुगिसकेको छ ।
पुलिसले पहिलो खेलमा सहारा क्लब र क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई पराजित गरेको थियो । सिधै क्वाटरफाइनल खेलेको ब्ल्याक बुल्सले भारतको थण्डरबोल्ट नर्थ युनाइटेडलाई हराएको थियो ।
पुलिस यो संगै ११औं पटक फाइनलमा पुगेको हो । ब्ल्याक बुल्स नेपालमा आएर खेलेको पटकपटकमै मोफसलको चर्चित फुटबल प्रतियोगिताको फाइनल पुगेको हो । फाइनल खेल फाल्गुन ३ गते शनिवार दिउँसो २ : ३० बजे हुनेछ । माघ २२ गतेदेखि सुरु भएको प्रतियोगितामा तीन विदेशीसहित १२ टोलीको सहभागिता थियो । प्रतियोगिताको विजेताले १२ लाख १ हजार रुपैंया नगद पुरस्कार प्राप्त गर्नेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology