बुटवल । प्रथम शहीद लखन थापामगरलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ । प्रथम शहीद लखनथापामगरको एक सय ४८औं स्मृति दिवसको अवसरमा शुक्रवार बुटवलमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले प्रथम शहीदलाई राज्यको तर्फबाट अपमानित गर्ने कार्य भएकाले उचित सम्मानका लागि राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका हुन् ।
प्रथम शहीद लखनथापामगर अक्षयकोष २०५६ रुपन्देहीका अध्यक्ष थर्क बहादुर बाहघरे मगरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले राष्ट्रिय विभूति घोषणा गरेर लखनथापामगरको सहादतलाई सम्मान व्यक्त गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाल मगर संघ केन्द्रीय समितिका सह–अध्यक्ष दल बहादुर वीरकट्टामगरले राज्यले प्रथम शहीद मात्रै घोषणा गर्ने तर उनको स्मृतिमा राज्यको तर्फबाट कुनै पनि सम्मानजनक कार्यहरु, गतिविधि तथा कार्यक्रमहरु नगर्ने कार्यले शहीदको अपमान भएको बताए । उनले शहीद लखनथापामगरको शालिक काठमाडौंमा रहेको शहीद गेटमा अनावरण गर्नुपर्ने, मध्यपहाडी लोकमार्गको नाम शहीद लखन थापाको नामबाट नामाकरण गरिनुपर्ने लगायतका संघले राखेका मागहरु राज्यले पुरा गर्नुपर्ने उल्लेख गरे ।
सो अवसरमा बोल्दै अर्का वक्ता बुटवल उपमहानगर प्रमूख खेलराज पाण्डेयले शहीदहरुले देखाएको बाटोमा हिड्नु नै शहीदहरुप्रति सच्चा श्रद्धाञ्जली र सम्मान हुने धारणा राखे । लखन थापामगर अक्षयकोष २०५६ रुपन्देही र नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज धनी आले, नेपाल मगर शिक्षक संघका केन्द्रीय महासचिव सूर्यविक्रम राना, संघकै लुम्विनी प्रदेश बरिष्ठ उपाध्यक्ष जनक थापामगर, संघका तिलोत्तमा नगर अध्यक्ष लीलमाया रानामगर लगायतले बोलेका थिए ।
संघका उपाध्यक्ष टेक बहादुर रेस्मीमगरको स्वागत तथा सचिव राधिका श्रीसको सञ्चालनमा कार्यक्रम भएको हो । राणा शासनका विरुद्ध पहिलो जनविद्रोहको आह्वान सहित प्रजातन्त्रका लागि आवाज उठाउने कार्यको अगुवाई गरेको आरोपमा लखनथापामगरलाई तत्कालिन प्रधानमन्त्री जंग बहादुर राणाले वि.स.१९३३ साल फागुन २ गते गोर्खामा खिर्राको बोटमा झुण्डाएर फाँसी दिएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology