देवदह । नेपाल मगर संघ देवदह नगर समितिको पाचौँ अधिवेशनले किशनबहादुर थापाको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको निर्वाचन मण्डलका संयोजक यम रानाले जानकारी दिए ।
समितिको उपाध्यक्षमा मिलन मास्की राना, सचिवमा चोलीमाया झेडी, कोषाध्यक्षमा कुलबहादुर आले रहेका छन् । त्यस्तै सदस्यहरुमा फागुकुमारी सारु, गिरीबहादुर विरकट्टा, चेतबहादुर डिसुवा, विक्रम थापा, प्रितम थापा, जुनु थापा, देवबहादुर सारु, राधा फुंजामगर, अमृता घर्ती रहेका छन् ।
अधिवेशनले कृष्णबहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरेको छ । जसको सदस्यमा ताराबहादुर थापा र दिलु थापा रहेका छन् ।
अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर संघका केन्द्रिय सह–अध्यक्ष दलबहादुर विरकट्टाले भाषा, संस्कार, संस्कृति बचाउन स्थानीय सरकार लाग्नु पर्नेमा जोड दिए । उनले सरकारले भौतिक विकास संगै मानवीय विकास गर्न आवश्यक रहेको औंल्याउदै मानवीय विकासले मात्र देश समृद्धि बन्ने बताए ।
सहअध्यक्ष विरकट्टाले भाषा, संस्कार, संस्कृतिको संरक्षणले मात्र जातीय पहिचान स्थापित हुनेमा जोड दिदै भाषालाई आर्थिक उपार्जनसंग जोड्न आवश्यक रहेको औंल्याए । आफनो ईतिहास आफै लेख्नु पर्ने बताउदै उनले नेपाल मगर संघले यसको शुरुवात गरेको बताए ।
नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष मनबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रिय अनुशासन आयोगका सदस्य जसबहादुर पुन, संघका जिल्ला अध्यक्ष थर्कबहादुर वारघरे, देवदह नगरपालिका-६ का वडाअध्यक्ष खेमबहादुर थापा, २ का वडाअध्यक्ष दलबहादुर राकसकोटी, पूर्वअध्यक्ष लालबहादुर दर्लामी, संघका देवदह-७ अध्यक्ष सञ्जय राना लगायतले बोलेका थिए । कार्यक्रममा मगर संघलाई सहयोग गर्ने मगर अग्रजहरुलाई सम्मान गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology