काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कतिपय मानिसहरुले अझैपनि संघीयतालाई स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘संघीयताको प्रभावकारी कार्यान्वयनमा नेपाली काँग्रेसको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले कतिपय मानिसहरुले बाध्यताले संघीयता स्वीकार गरेको टिप्पणी गरे ।
उनले कसैले चाहँदैमा संघीयता नफर्किने उल्लेख गर्दै यसलाई जनताप्रति थप उत्तरदायि बनाउन आवश्यक रहेको बताए । देउवाले मुलुक संघयितामा गइसकेपछि स्थानीय तह, प्रदेश र संघले आ—आफ्नै अधिकार प्राप्त गरेको भएपनि संघीयता सुदृढीकरण आवश्यक रहेको उल्लेख गरे ।
संघीयताको सफल कार्यान्वयनको लागि सबै राजनीतिक दलका नेतृत्वबीच छलफल हुनु आवश्यक रहेको समेत सभापति देउवाको भनाइ छ । मुलुकमा संघीयता आएपछि मात्र सबैले राज्यका संरचनामा सहभागिताको अवसर पाएको उनले बताए ।
‘संघीयतालाई अझै प्रभावकारी बनाउने र जवाफदेही बनाउने कुरा आवश्यक छ । संघीयतालाई अझै कति मानिसले स्वीकार गरेका छैनन् । कतिले मन नपराई नपराई स्वीकार गरेका छन् । त्यसकारण संघीयता आइसक्यो यो फर्किने कुरा छैन ।’ उनले भने, ‘तर हामीले मुलुकको आर्थिक अवस्थालाई हेरेर पनि कतिपय कामहरु गर्नुपर्ने हुन्छ ।’
काँग्रेस सभापति देउवाले मुलुकको सम्प्रदायिक एकतालाई खल्बल्याउने काम भइरहेको भन्दै यसकाविरुद्ध सबै एकजुट हुन समेतत आग्रह गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology