काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको राजनीतिक नेतृत्व पछिल्लो पुस्ताले नै गर्ने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले केही समय लाग्न सक्ने भए पनि अन्ततः नेतृत्व नयाँ पुस्तामै जाने स्पष्ट पारे।
मुलुकमा थुप्रै काम गर्न बाँकी रहेको भन्दै उनले धेरै गर्नुपर्नेछ, सकिँदैन भन्ने सोच राखेर पलायन हुनुको सट्टा अरूले गरेनन्, म गर्छु भन्ने भावनासहित अघि बढ्नुपर्ने बताएका छन्।
मन्त्री पौडेलका अनुसार समस्या सबैलाई थाहा भए पनि समाधान पहिचान गर्न नसकिएको अवस्था छ। उनले अबको युवा पुस्ताले समस्या र समाधान दुवैसहित राजनीतिमा आउनुपर्नेमा जोड दिए। 'यो मुलुकमा थुप्रै विषयहरू छन्। धेरै गर्नुपर्नेछ। तर सकिँदैन भनेर पलायन हुने हो कि, अरूले गर्न सकेनन्, म गर्दछु भनेर अग्रसरता देखाउने हो? समाधान दिनेगरी नेतृत्वमा आउने प्रयास गर्नुस्,' मन्त्री पौडेलले भने।
उनले राजनीतिक नेतृत्व पछिल्लो पुस्ताले नै लिने भन्दै नयाँ विषय ल्याउनेहरूकै आकर्षण बढ्दै जाने बताए। 'म उमेरले कान्छो हुँ भनेर मात्र नेतृत्व पाउन सकिँदैन। नयाँ विषय ल्याउनेहरूकै पक्षमा नेतृत्व जान्छ,' उनले थपे।
विद्यार्थी संगठनहरूबीच एकता आवश्यक रहेको मन्त्री पौडेलको धारणा छ। साझा मुद्दा पहिचान गरेर अघि बढ्न सकियो भने विद्यार्थी आन्दोलनले अझै पनि राज्यमा प्रभाव पार्न सक्ने उनले बताएका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology