काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकको अपेक्षा अनुसार नीति र नेतृत्व दुवै सच्चिएर आएकाले पार्टीले नागरिकको विश्वास जित्ने अपेक्षा गरेका छन् ।
काठमाडौं- ५ मा क्षेत्रीय कार्य समितिले आयोजना गरेको सदस्य भेलामा बोल्दै सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका उनले भदौ २३ को आन्दोलनले आफूहरुलाई नै खबरदारी गरेको भन्दै कमजोरी स्वीकार गरेर नागरिकले चाहेजस्तै परिमार्जन र रुपान्तरण गरेर पार्टी निर्वाचनमा होमिएको बताए ।
‘हामीले सबैलाई तपाईंले भने जस्तो कांग्रेस बन्यो । तपाईंले खोेजेजस्तो कांग्रेसले नै देश रुपान्तरण गर्छ मत दिएर सघाउनुस् भनेर भन्न जरुरुी छ,’ महामन्त्री पौडेलले भने । ‘भदौ २३ मा कांग्रेसलाई नै खबरदारी गर्ने गरी नेपालमा क्रान्ति भयो,’ उनले भने,‘हामीले गगन थापाको नेतृत्वमा कमजोरी स्वीकार्न ढिला गरेनौं । भित्रबाटै सच्चिनुपर्छ भनेका थियौं । अन्ततः नागरिकले चाहेजस्तो परिमार्जन र रुपान्तर गरेर निर्वाचनमा होमिएका छौं ।’
नेतृत्व र विचार प्रष्टबाट परिवर्तन गरेर आएको भन्दै उनले नागरिकले सच्चिएर रुपान्तरित भएर आउ भनेकाले त्यसै अनुसार सच्चिएको बताए । जन्मको आधारमा पुराानो भए पनि विचारका आधारमा कांग्रेसजस्तो नयाँ अरु हुन नसक्ने भन्दै उनले कसैबाट विचार आयात गरेर जर्बजस्त राजनीति नगरेको बताए ।
समाजको चाहनाअनुसार नै नयाँ ढंगबाट पार्टी अघि बढिरहेको उनले बताए । कार्यकारी को हुन्छ भन्ने विषय आम नागरिकको जान्न पाउने हक भएकाले त्यसको सम्मान गरेरै गगन थापालाई उम्मेदवार घोषणा गरेका हौं, महामन्त्री पौडेलले भने,‘यो निर्णय व्यक्तिको होइन, पार्टीको हो ।’
आम नागरिकले नेतृत्व परिवर्तन गरेर र नीतिमा प्रष्टता गरेर आउ भनेकाले त्यसैलाई आत्मसाथ गरेर भावी कार्यक्रममा प्रष्टसाथ ब्रेन ड्रेनसहितका समस्या सम्बोधन गर्दे देश बदल्ने १० एजेण्डा लिएर आउने उनले बताए । कसैलाई गाली गरेर मात्र आफू योग्य नभइने भन्दै महामन्त्री पौडेलले दृष्टिकोण र एजेण्डाका आधारमा अरु भन्दा राम्रो बन्न सकिने बताए । ‘मतदाताले पनि एजेपण्डा र दृष्टिकोणका आधारमा छनोट गर्नुपर्छ । हामीले मर्यादित ढंगले मतदातामाझ गएर मत माग्न जरुरी छ,’ उनले भने ।
आफूले विगतमा पनि सांसदका रुपमा नीति निर्माणमा महत्वपूर्ण भूमिका खेलेको प्रसंग कोट्याउँदै पूर्व सांसद तथा मन्त्रीसमेत रहेका पौडेलले यसले क्षेत्रका मतदाताको छाती गर्वले फुल्ने बताए । ‘काठमाडौंका मतदाताले घरको बाटो संघीय सांसदले बनाउँछ भनेर पर्खि राख्नु हुँदैन होला । मैले जिताएको व्यक्तिले देशका लागि के गर्यो सोच्नुहुन्छ जस्तो लाग्छ । देशका लागि राम्रो गर्यो भने छाती गर्वले फुल्छ भन्नुहुन्छ भन्ने बुझाइ छ,’ उनले भने ।
सांसद रहँदा ठूलो समस्या रहेको रिंग रोड निर्माणमा दबाब दिन सार्वजनिक महत्वको प्रस्ताव लगेको देखि मेलम्चीको पानी क्षेत्रभित्र विस्तारका लागि पनि संसदमार्फत दबाब दिएको उनले बताए । विष्णुमति करिडोरको विषय होस् वा खोलाको मापदण्ड, कुनै विषयमा पनि पैरवी गर्न छाडेनौं, उनले भने ।
महामन्त्री पौडेलले स्वास्थ्य मन्त्रीका रुपमा आफ्नो कामबाट क्षेत्रका मतदाता कसैले शिर निहुरिउनुपर्ने अवस्था नरहेको बताए । ‘मैले सबै गर्यौं भन्दिन, थुप्रै काम भएको छ । र, केही पनि बिगारेको छैन,’ उनले भने ।
आफू हिजो भन्दा पनि सरल रहेको भन्दै सभापति गगन थापाबाट प्रभावित भएको भन्दै राजनीति लामो गरिरहने नभै छोटो समय गर्ने तर देखिने गरी गर्ने बताए । ‘नेतृत्व गरेर परिवर्तन ल्याउनेछु, उनले भने, ‘यसका लािग जोसँग परे पनि लड्नेछु ।’
आफूले टिकट नपाएर काठमाडों ५ मा नलडेको भन्दै आफ्नो जीवन नै कांग्रेसमै बित्ने र क्षेत्र ५ मै बित्ने उनले बताए । ‘कसैले अनावश्यक हल्ला गरे नपत्याउनु होला । मलाई माया गर्ने सभापति भएको बेलामा मैले खोजेको ठाउँमा टिकट पाउँथिन होला र ? मेरो जीवन कांग्रेसमै बित्छ र क्षेत्र ५ मै बित्नेछ,’ उनले भने ।
पार्टी सभापति गगनकुमार थापा समेत सहभागी कार्यक्रममार्फत चुनावी परिचालनका लागि ५ सय १ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology