काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवम् नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नकारात्मक सन्देशको निरन्तरताले नेपाली काँग्रेस सशक्त बन्न नसक्ने बताएका छन् । शुक्रवार काठमाडौंमा अयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेसले आफूलाई जिम्मेवारी दिएर सरकारमा पठाएको र जिम्मेवारी प्रभावकारी ढंगबाट निर्वाह गर्ने प्रतिवद्धता जनाए ।
सरकारमा गइसकेपछि जनताका बीचमा प्रचार गर्नेगरी उपलब्धिहरु देखाउन सक्नुपर्ने उनको भनाई छ । राजनीतिमा म्यासेज सबैभन्दा ठूलो कुरा हुने भन्दै सकारात्मकता बढाउने गरी काम गर्नुपर्ने उनले बताए ।
मन्त्री पौडेलले भने, ‘मलाई नेपाली काँग्रेस पार्टीले सरकारमा जिम्मेवारी दिएर पठाएको छ । त्यो जिम्मेवारी प्रभावकारी ढंगबाट निर्वाह गर्नेछु । म भन्दा धेरै योगदान गर्नुभएका साथीहरु बाहिर हुनुहुन्छ । बाहिर रहनुभएका साथीहरुलाई म सरकारभित्र बसेर जनताका बीचमा प्रचार गर्नेगरी उपलब्धिहरु मैले देखाउन सक्नुपर्छ ।’
उनले आफूले स्वास्थ्य क्षेत्रमा केही सुधार गर्ने प्रयत्न गरिरहेको बताउँदै काँग्रेसलाई आफ्नो कार्यशैलीबाट लोकप्रिय बनाउनुपर्ने जिकिर गरे । नेपाली राजनीतिमा प्रतिष्पर्धात्मक परिस्थिति बनेको मन्त्री पौडेलको भनाई छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology