काठमाडौं । नेकपा एमालेका सांसद दयालबहादुर शाहीले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै एउटा कर्मचारी हटाउँदा तीन दिनसम्म रुने गरेको टिप्पणी गरेका छन् । पूर्वाधार विकास समितिको बुधवारको बैठकमा बोल्दै उनले कर्मचारीलाई आफ्नो रोल मोडल जस्तो बनाएर रुने असर माओवादीमा रहेको टिप्पणी गरेका हुन् ।
सांसद शाहीले अमेरिकाले त्यत्तिका कर्मचारी र कार्यक्रमहरु हटाउँदा कहीँ पनि बिरोध नहुने तर नेपालमा भने रोई कराइ गर्ने परिस्थिति निर्माण भएको भन्दै दुःख व्यक्त गरे । उनले एउटा कर्मचारी हटाउँदा रुने व्यक्तिहरुले नै कार्यकारी राष्ट्रपतिय प्रणालीमा जानुपर्ने आवाज उठाइरहेको बताए । उनले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङको व्यवस्थापकीय क्षमता राम्रो रहेको पनि बताए ।
नेकपा एमालेकै सांसद प्रेमबहादुर महर्जनले कुलमान घिसिङ बिदाई हुँदै गर्दा र हितेन्द्र शाक्य आइसकेपछि विद्युत प्राधिकरण अर्वौं रुपैयाँ घाटामा गयो भन्नेकुराको स्पष्ट जवाफ माग गरे । लोड सेडिङको विषयमा पनि स्पष्ट ढंगबाट जनतालाई भन्नुपर्ने उनको भनाई छ ।
समितिको बैठकमा बोल्दै जनता समाजवादी पार्टीकी सांसद सुशीला श्रेष्ठले साझा समस्या सोँचेर मुलुकको लागि काम गरे सफलता हात लाग्ने बताईन् । उनले राम्रो मान्छे छान्ने भन्दा पनि भागबण्डाको लागि काम भइरहेको भन्दै आपत्ति जनाईन् । बेथितिलाई थितिमा परिणत गरेर काम गर्नुपर्ने बताएकी उनले सरकारले राम्रो काम गरेको छ भनेर जनताको बीचमा बोल्न पाउने परिस्थिति निर्माण गरिदिन आग्रह गरिन् ।
बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले आग्रह पूर्वाग्रहबाट माथि उठ्न नसकेसम्म समग्रमा अरु कुनै तर्कले मुलुक बनाउन नसकिने बताए । देशको सबैभन्दा ठूलो समस्या नै आग्रह र पूर्वाग्रह रहेको उनको भनाई छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology