रमेश बहादुर सिह, बझाङ । बैमौसमी वर्षाका कारण आएको बाढी र पहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । अझै २१ जना अझै बेपत्ता रहेका मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
मंगलबार बिहान थलारा गाउँपालिका वडा नं ४ डिक्लामा गएको पहिरोमा परी गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना बेपत्ता भए । दुई दिन देखि हराइरहेका उनीहरूमध्ये दुई जनाको शव भेटिएको छ । पहिरोमा परी बेपत्ता भएका नरे पार्कीका ७ वर्षीय छोरा आयुष पार्की र एक जनाको सनाखत हुन बाँकी रहेको छ ।
अहिले बझाङको मौसम अनुकूल हुँदै गएकाले खोजिकार्यका लागी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा खटिएका छन् ।
गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाउँका १ सय ७० घरपरिवार विस्थापित भएका छन् भने सात घर पुरिएका छन् । पहिरोका कारण तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय त्रिभुवन मावि महेन्द्रधारमा अस्थायीरुपमा आश्रय लिइरहेका छन् ।
पूरा गाउँ पहिरोको जोखिममा रहेपछि सय भन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउदले बताए । विस्थापितहरूलाई खान र बस्नको समस्या भएको बताइएको छ ।
विद्यालयमा बसिरहेका विस्थापितहरूमध्ये बालबालिका र वृद्धावृद्धलाई बढी समस्या भएको छ । अहिलेसम्म विस्थापितहरूको खानबस्न लगायत राहतका लागि कुनै निकायले चासो नदेखाएको पीडितहरूको गुनासो छ ।
यस्तै खप्तडछान्ना गाँउपालिकामा बाढी पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । घरभन्दा माथिको डाँडाबाट पहिरो खसेर घर पुरिँदा खप्तडछान्ना गाँउपालिकाको माझीगाँउका ४५ वर्षीय भर्मराज रोकाया र उनकी ४१ वर्षीया श्रीमती जैसरा रोकाया, कालुखेतीका ४७ वर्षीय बिरु गिरी र उनकी ४५ वर्षीया श्रीमती चन्द्रा गिरी र पाटादेवलका धनराज जोशी रहेका छन् ।
छबिसपाथीभेरा गाँउपालिका २ मुम्लामा खोलाले बगाउँदा १० वर्षीय एक बालकको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिकाको कैलासमा ६० परिवार विस्थापित भएका छन् भने थलारा गाँउपालिकाका दुई सय बढी परिवार विस्थापित भएका छन् ।
सो क्षेत्रमा यतिबेला सञ्चारमा समेत समस्या छ । मोबाइलमा नेटवर्क नहुँदा क्षतिको पूरा विवरण आउन नसकेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology