काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले काँग्रेसले सत्ताको नेतृत्व गर्नुपर्ने बताएका छन् । भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश अफ्ठ्यारो परिस्थितिमा गएको र नेपाली काँग्रेस मध्यममार्गी पार्टी भएकाले सत्ताको चाबी आफूसँग खोस्नुपर्ने बेला भइसकेको टिप्पणी गरे ।
सांसद कोईरालाले कुनैपनि देशमा मध्यममार्गी पार्टी कमजोर भए देश अराजकतातिर जाने जिकिर गरे । नेपाली काँग्रेस सरकारमा रहेको तर सत्ताको चाबी वामपन्थीहरुसँग रहेको भन्दै उनले सत्ताको चाबी काँग्रेसले खोल्नुपर्ने बताए । काँग्रेसको भविष्यको प्रतिष्पर्धी नेकपा एमाले भएकाले एमालेले गरेका नराम्रा कामहरु नागरिक समक्ष लैजानुपर्ने उनको भनाई छ ।
सांसद कोईरालाले भने, ‘अत्यन्तै अफ्ठ्यारो परिस्थितिमा देश गइरहेको छ । नेपाली काँग्रेस एउटा मध्यममार्गी पार्टी हो । हामी दक्षिणपन्थी पनि होइन र वामपन्थी पनि होइन । उग्रवामपन्थीको त कुरै भएन । कुनैपनि देशमा मध्यममार्गी पार्टी कमजोर भयो, खुम्चियो भने देश अराजकतातिर जान्छ । त्यो बुझौँ । त्यो अराजकता रोक्न नेपाली काँग्रेसले मात्रै सक्छ । सरकार र सत्ता फरक कुराहरु हुन् । हामी सरकारमा छौँ । नेपाली काँग्रेस सरकारमा छ । तर सत्ताको चाबी हामीसित छैन ।’
सांसद कोईरालाले कतार, दुबईहरु बनाउने नेपालीहरुले नेपाल बनाउन नसक्ने भन्ने नहुने बताए । नेपाललाई नेपाल बनाउनुपर्ने उनको भनाई छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology