विष्णु पोखरेल, रोहिणी । स्थानीय निर्वाचनको ४ बर्षमा रोहिणी गाउँपालिकाले ७० प्रतिशत बढी बाटोमा पिसिसी ढलान गरेको छ भने १० किलोमिटर बाटो कालोपत्रे गरेको छ । रोहिणीका युवा नेता सनोजकुमार यादवले आफू अध्यक्षमा निर्वाचित भएपछि सडक विकासमा उल्लेख्य उपलब्धि भएको बताए ।
सेतोमसीसंग कुरा गर्दै गाउँपालिका अध्यक्ष यादवले ४ वर्षको अन्तरालमा स्थानीय जनताको सहयोगले आफुलाई काम गर्न धेरै सहज भएको बताउँछन् । हिजो निर्वाचनमा भोट माग्न हिड्दै गर्दा हिलो बाटोमा आफू कैयौं पटक फसेको सम्झिंदै अध्यक्ष यादवले अहिले धुलो र हिलोको समस्याबाट रोहिणी गाउँपालिका भित्रका सडकहरू मुक्त भएको उल्लेख गरे ।

"भोट माग्ने समयमा गाउँघरमा पस्दा गाउँका बाटाहरुमा गाडी पुग्न नसक्ने अवस्था थियो । थोरै पानी पर्यो कि बाटाहरु हिलाम्मे हुन्थे । त्यसैले चुनाव जितेपछि पहिलो वर्ष नै भौतिक विकास निर्माण कार्यहरुमा बाटोलाई पहिलो प्राथमिकतामा राखेका थियौ।" उनले भने ।
आफू निर्वाचित भएपछि पहिलो वर्ष नै गाउँपालिका भित्रका ७ वटै वडामा स्थलगत अनुगमन गरेर बाटोको धेरै समस्या भएका गाउँ टोलमा तत्काल पिसिसी ढलान गरेको धेरैजसो बाटोहरुमा गिट्टी बालुवा खसालेर तत्कालका लागि आवतजावतका लागि निकास बनाएको उनी बताउँछन् ।
उनी अगाडि भन्छन - "अहिले चार वर्षमा बाटोको अवस्था हेर्ने हो भने हामी लगभग ७ वटै वार्डको गाउँटोलमा ७० प्रतिशत भन्दा बढी भित्री बाटोहरुमा पिसिसी ढलान गरेका छौँ । यो वर्षको बजेटमा पनि बाटो निर्माणका कार्यहरु निरन्तर भइरहेका छन् ।"
कतिपय ठाउँहरुमा अहिले पनि पिसिसी ढलान गर्नुपर्ने बाँकी नै रहेको बताउँदै यादवले
गाउँपालिकाको लक्ष्य रोहिणीको सबै गाउँलाई मिलाएर लगभग ९० प्रतिशत भन्दा बढी पिसिसी ढलान गर्नु रहेको बताए । गाउँपालिकाले चार वर्षको अन्तरालमा करिब १० किलोमिटर सडक कालोपत्रे गरेको जनाएको छ ।

संघ र प्रदेशबाट समन्वय गरेर समपुरक र अनुदान प्राप्त गरि त्यसबाट पनि गाउँपालिका भित्र लामो दुरीका ठुला सडकसंगै नाली निर्माण र ढल निकासको पनि उचित व्यवस्थापन गरिएको अध्यक्ष यादवको दावी छ ।
गाउँपालिका अध्यक्षको कुरामा स्थानीयहरू पनि सहमत देखिन्छन् । रोहिणी गाउँपालिकाको धकधइ चोकमा व्यवसाय गर्दै आएका पशुपति यादव रोहिणीको बाटोको विषयमा पहिला र अहिलेको तुलना गर्ने हो भने पहिला भन्दा अहिले धेरै राम्रो भईसकेको बताउँछन् । "अहिले प्रत्येक गाउँटोलमा गाडीहरु पुग्न सक्छन । असार साउनको वर्षातका बेला पनि गाउँघरमा जुत्ता लगाएरै जान सकिन्छ ।" उनले भने ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology