कमल रायमाझी, भैरहवा । जिल्लाको पूर्वी दक्षिण क्षेत्रमा पर्ने रोहिणी गाउँपालिकाले रोहिणी सभ्यताको खोजी शुरु गरेको छ । महामानव गौतम बुद्धसँग प्रत्यक्ष जोडिएको यो स्थलको खोजका लागि गाउँपालिकाले नीति तथा कार्यक्रममा बजेट विनियोजन गरी सक्रियता देखाएको हो ।
रुपन्देहीमा बुद्ध जन्मस्थल लुम्बिनीको संस्थागत विकाससँगै शुरु भएको बृहत लुम्बिनीको गुरुयोजनामा रोहिणीको सभ्यतालाई लुम्बिनी विकास कोषले बिर्सिएपछि गाउँपालिकाले आफै पहल शुरु गरेको गाउँपालिकाको सूचना शाखाले जनाएको छ । बृहत लुम्बिनी गुरुयोजनामा कपिलवस्तुको तिलौराकोट लगायतका क्षेत्र, मावली देवदह र अस्तुधातु रहेको नवलपरासीको रामग्रामलाई विशेष प्राथमिकतामा राखेर विकास र बुद्धकालीन सम्पदाको संरक्षण गर्न सुरु गरे पनि रोहिणीलाई बिर्सिएको देखिन्छ ।
बुद्ध सम्पदाको संरक्षण तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको रोहिणी नदीको इतिहास लेखन र खोज अनुसन्धानका लागि पालिकाले प्रकृया शुरु गरेपछि स्थानीयबासी तथा पर्यटन व्यवसायी र बुद्ध दर्शनका अनुयायीहरुलाई खुसीयाली बनाएको छ । बौद्धकालीन प्राचिन रोहिणी सभ्यताको खोज तथा इतिहास लेखनलाई प्राथमिकतामा राखेर गाउँपालिकाले सञ्चारकर्मी, लुम्बिनी विकास कोष, लुम्बिनी बौद्ध विश्वविद्यालय, सरोकारवाला निकाय र जनप्रतिनिधिसँगको छलफल शुरु गरेको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
बौद्धकालीन समयका कपिलवस्तु राज्यको शाक्यवंश र कोलिया गणराज्यको सीमाक्षेत्र रहेको रोहिणी नदीको पानी विवादले भएको युद्धको विषयमा रोहिणी सभ्यताले चित्रण गरेको छ । शाक्यवंश र कोलिया गणराज्यबीच रोहिणी नदीको पानीलाई सिचाईको लागि कसले प्रयोग गर्ने भन्ने विषयमा ठूलो विवाद भएको इतिहास रहेको छ ।
पानीको विषयमा भएको विवादले युद्धसम्म निम्त्याएपछि बुद्ध आफै आई त्यो विवाद रोक्न सफल भएको संस्कृतविद तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धान निर्देशक डा. गितु गिरी बताउछन । रोहिणी सभ्यताको इतिहास बृहत रहेको छ । संस्कृतविद तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धान निर्देशक डा. गिरी भन्छन, “ शान्तिको मार्ग प्रस्तुत गरी बुद्धले सकारात्मक बुद्ध वचन मार्फत कोलिया गणराज्य र शाक्य वंशहरुको कपिलवस्तु राज्यका जनता बीचको विवाद र युद्धको अन्त्य गरेकोे बुद्ध इतिहास छ ।” शान्ति स्थापना पश्चात रोहिणी नदीमा बाँध निर्माण गरी दुवै देशका जनतालाई कुलो मार्फत बराबर पानी वितरण गरेको तथ्य बुद्धकालीन इतिहासले व्याख्या गरेको डा. गिरीको भनाई रहेको छ ।
शान्तिको मुहानको रुपमा रोहिणीको इतिहास भए पनि सरोकारवाला निकाय भने बेखबर देखिन्छन् । बुद्धले परिवार र राजदरवार त्याग गरी बुद्धत्व प्राप्त गरिसकेको केही समयपछि भएको यो द्वन्द्वले दुई गणराज्यबीच सधै अशान्ति हुने गरेको बुद्ध दर्शनका अनुसन्धानकर्ताहरु बताउँछन् । धान रोपाई गर्ने जेठ महिनामा हुने खडेरीको समयमा रोहिणी नदिको पानी कसले प्रयोग गर्ने भन्ने विवाद सधैँ हुने गरेको र विवादले युद्ध समेत हुने गरेपछि बुद्ध दुई गणराज्यमा शान्ति कायम गर्नका लागि रोहिणी नदीमा आएको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक आचार्य दयानीधि गौतम बताउछन । मातृभूमिप्रतिको मोहका कारण बुद्धले आफ्नो मावली गणराज्य देवदह र आफ्नो बुबाको शाक्यवंश राज्य कपिलवस्तुबीच शान्ति र अहिंसाको मार्ग शुरु गराएको उपप्राध्यापक आचार्य गौतमको भनाई छ ।
प्राकृतिक स्रोतका लागि दुई गणराज्य बीचको झगडा र लडाईले जनतामा डर, भय र निराशा छाएको अवस्थामा बुद्धको आगमनले शान्ति र सकारात्मक मार्गको शुरुवात गरेको लुम्बिनी विश्वविद्यालयको अनुसन्धान केन्द्रले जनाएको छ । मानवीय मूल्यसँग अरुको मूल्य तुलना गर्न नसकिने हुनाले लडाई र द्वन्द्वले मानवीय क्षती हुने हुँदा यस्तो गर्नु गलत हुने समेत रोहिणी सभ्यताले सिकाएको छ । “ रोहिणी विवाद चलिरहेको बेला बुद्धको रोहिणी नदीमा आगमन हुँदा दुई देशको सेना लडाईका लागि आमने सामुन्ने भैरहेको र बुद्धले देखेपछि लडाईमा तम्तयार भएर बसेका राजालाई केको लागि यो तयारी अवस्था बसेको भनी सोधेको बुद्ध इतिहासले बताएको छ ।
बुद्धले सोधेपछि कपिलवस्तु राज्यका राजाले पानीका लागि युद्ध गर्न लागेको बुद्धलाई जवाफ दिएका छन् । राजाको जवाफको उत्तर दिदै बुद्धले पानीको मूल्य ठुलोकी मानिसको रगतको मूल्य ठूलो भनी प्रश्न गरेको बुद्ध दर्शनका ज्ञाता तथा लुम्बिनी बौद्ध विश्वविद्यालय उपप्राध्यापक आर्चाय गौतम बताउछन ।
रोहिणी सभ्यतालाई आजको युगमा प्रयोग गर्न सकिने लुम्बिनी बौद्ध विश्वविद्यालयले जनाएको छ । प्राकृतिक स्रोतका लागि अहिले महाशक्ति राष्ट्रबीच द्वन्द्व भैरहेको अवस्थामा रोहिणीलाई त्यस द्वन्द्वको समाधान गर्न सक्ने केन्द्रको रुपमा विकास गर्न बुद्ध दर्शनका ज्ञाताहरु सुझाव दिने गरेका छन् । यसको विकास र अनुसन्धानका लागि रोहिणी गाउँपालिका योजना र सक्रिताका साथ अगाडि बढेको रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले बताए । सबै पक्षको सल्लाह र सहकार्यमा रोहिणीलाई व्यवहारमा अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउने प्रयास रहेको उनले बताए । गाउँपालिकाका अध्यक्ष यादवले सर्वपक्षीय छलफल गर्ने, लुम्बिनी बौद्ध विश्वविद्यालयल र लुम्बिनी विकास कोषसँग सहकार्यमा रोहिणी सभ्यताको खोज गरिने बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology