देवदह । देवदहमा लागुऔषध दुव्र्यसनी र साइबर अपराधका विषयमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र विद्यार्थी युनियन, देवदह आदर्श बहुमुखी क्याम्पसको आयोजना र प्रहरी चौकी देवदह ७ रूपन्देहीको सहकार्यमा सोमवार आयोजित कार्यक्रममा युवावर्गलाई लक्षित गर्दै कुलत र प्रविधिसम्बन्धी जोखिमबारे जानकारी गराईएको हो ।
कार्यक्रममा प्रहरी सहायक निरीक्षक ध्रुव कुमार कुँवरले कुलतमा फस्ने सामाजिक र प्रविधिमूलक कारणहरूबारे स्पष्ट पारे । उनले पढाइ छाड्नु, परिवारमा हुने कमजोरी, र साथीभाइको प्रभावका कारण धेरै युवाहरू लागुऔषधको कुलतमा फसिरहेको उल्लेख गरे । यस्तै, कुँवरले सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्ममार्फत बढ्दो साइबर अपराधप्रति पनि युवा विद्यार्थीहरुलाई सचेत गराउँदै सामाजिक सञ्जालमा आउने अनावश्यक लिंकहरू नखोल्न, शंकास्पद म्यासेजका लिंकहरूबाट टाढा रहन सुझाव दिए ।
उनले भने, ‘साइबर अपराधका अधिकांश घटनामा प्रयोगकर्ताले आफैं सुरक्षामा लापरबाही गर्दा समस्या बढेको पाइन्छ । सजग भएर प्रयोग गरे साइबर अपराधबाट जोगिन सकिन्छ ।’
स्ववियुका अध्यक्ष अश्विन न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष प्रकाश अर्याल, देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक भिमसेन बिष्ट, क्याम्पसका बीबीएस संकाय प्रमुख नारायण भण्डारी लगाएतले बोल्दै युवा विद्यार्थीमा बढ्दो कुलत र प्रविधि प्रयोग सम्बन्धी चेतनाको अभावलाई कार्यक्रमले सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।
वर्तमान डिजिटल युगमा इन्टरनेटमार्फत लागुऔषधको प्रचार, पोर्नोग्राफी, ठगी, मानसिक हिंसाजस्ता अपराधहरू तीव्र रुपमा फैलिइरहेकाले विद्यार्थी, शिक्षक र प्रहरीबीचको सहकार्य आवश्यक रहेको औंल्याएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology