काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा एकताबद्ध भएर अघि वढ्ने बताएका छन् । उनले पार्टी अध्यक्ष र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरविरोधले पार्टी विभाजनतर्फ नलाने स्पष्ट पारेका छन् ।
शनिबार पार्टीको स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पुनले भित्रका अन्तरविरोधहरूलाई संवाद र छलफलमार्फत समाधान गरिने बताए । "बाहिर आएका मतभेदका विषयहरू पार्टीभित्र छलफल गर्छौँ । मिडिया र अन्यले हल्ला गरेका कुरा पूरा हुँदैनन्," उनले भने ।
पुनले विचार मिल्ने दलहरूसँग पार्टी एकता गर्ने रणनीति पनि माओवादी केन्द्रको प्राथमिकतामा रहेको जानकारी दिए । "समाजवादी मोर्चामा आबद्ध दलहरूसँग पार्टी एकता गर्न एजेन्डा बनाएका छौँ । नेकपा एकीकृत समाजवादी, नेकपा लगायत दलहरूसँग नियमित छलफल भइरहेको छ," उनले उल्लेख गरे ।
उनले पार्टी एकता विषयमा भ्रम फैलाउनेहरू सक्रिय रहेको भन्दै, "कतिपय मानिस एकता हुन लागेपछि भ्रम फैलाउँछन्, रोक्न खोज्छन् । तर हामी नियमित छलफलमार्फत मतभेद साँघुराउँदै अघि बढिरहेका छौँ," उनले भने ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology