काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यमान संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
संविधान दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले २०७२ सालमा संविधान जारी गर्दा माओवादीले राखेको फरक मतलाई अहिले सम्बोधन गर्ने समय आएको बताएका हुन् ।
उनले त्यतिबेला प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र पहिचानसम्बन्धी मुद्दा उठाएको तर ठूला दलले बेवास्ता गरेको स्मरण गर्दै भने, “जेनजी आन्दोलनले ती विषयलाई पुनः पुष्टि गरिदिएको छ ।”
प्रचण्डका अनुसार यदि संविधान निर्माणकै बेला माओवादीको प्रस्तावलाई समेटिएको भए आजको संकट सिर्जना हुने थिएन । “राजनीतिक स्थायीत्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति आवश्यक छ भनेरै भनेका थियौं । सहमति भएको भए आज अर्कै परिस्थिति हुन्थ्यो, जेनजी आन्दोलन र यति ठूलो क्षति हुनपर्दैनथ्यो,” उनले स्पष्ट पारे ।
उनले अहिलेको अवस्था ठूला भनिएका दलहरूको अहंकारको परिणाम भएको आरोप लगाउँदै संविधान पुनः संशोधन गरेरै स्थायी समाधान खोज्नुपर्ने धारणा राखेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology