बुटवल । अशोक कुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश समिति पुनर्गठन गरेको छ । शनिवार कपिलवस्तुमा सम्पन्न पार्टीको प्रदेश समिति पुनर्गठन भेलाले अकरम पठानको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश समिति गठन गरेको हो ।
पार्टीको नवगठित प्रदेश समितिको उपाध्यक्षमा नेत्र बहादुर थापा, मोहम्मद अस्लम अन्सारी एवम् लालिमा मल्ललाई चयन गरिएको छ । त्यसैगरी मुख्य सचिवमा विवेकचन्द्र मिश्र चुनिएका छन् भने सचिवमा सुनिल पाठक र सुमित्रा नेपाली तथा कोषाध्यक्षमा मोहम्मद जुनेद कादरी चयन भएका छन् ।
त्यस्तै प्रदेश सदस्यहरुमा राजिव बर्मा, तरन्नम बानु ढपाली, साबित्री गिरी, वाहिद हलुवाई, जकी खान, सगीर खान, अमोद तिवारी, अनिल जयसवाल, नदीम इदरिसी, नसिम पठान, मोसिम कमल लगायत ४२ जना चयन भएका छन् ।
भेलालाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष अशोक कुमार राईले मुलुक दलहरुबिचको भागबन्डाको राजनीतिले थिलोथिलो भएको बताउँदै अब भागबन्डाको राजनीति अन्त्य हुनुपर्ने बताए । उनले भ्रष्टाचार र घुसखोरीको दुष्चक्रबाट देशलाई उकास्नु नै अबको राजनीतिक कार्यभार भएको बताउँदै जनता समाजवादी पार्टीले भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा दीगो राजनीतिक निकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदको व्यवस्था गर्नुपर्ने माग पार्टीको स्थापनाकालदेखि नै उठाउँदै आएको बताए ।
त्यस्तै प्रदेश भेलालाई सम्बोधन गर्दै पार्टीका महासचिव मोहम्मद इश्तियाक राईले जनता समाजवादी पार्टीले विचार तथा एजेन्डा मिल्ने पार्टीहरुसँग बृहत मोर्चा निर्माण गर्दै आसपमा सहकार्य गरेर निर्वाचनमा जाने र निर्वाचनबाट श्रेष्ठता हासिल गरी आफ्ना एजेण्डाहरु लागू गर्ने लक्ष्य लिएको बताए ।
कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् लुम्बिनी प्रदेश ईन्चार्ज मनिकर कार्र्की, अख्तर हुसैन फारुकी, नबिन कुमार सुनुवार लगाएतले बोल्दै समाजमा विद्यमान आर्थिक एवम् सामाजिक विभेदको अन्त्य गर्दै आर्थिक एवम् सामाजिक रुपान्तरणका कार्ययोजनाहरु लागू गर्नुपन धारणा राखे । उनीहरुले संकटको बेला पार्टीको विचार र सिद्धान्तको रक्षा गर्दै संगठन निर्माणमा जोड दिनुपर्ने धारणा राखे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology