देवदह । देवदहमा संचालित एक मासु पसलमा कुहिएको मासु फेला परेको छ । देवदह-५ खैरेनीमा संचालित सुपर समिर मासु पसलमा कुहिएको मासु बरामद गरिएको नगरपालिकाका बजार अनुगमन समिति संस्योजक कृष्ण प्रसाद अधिकारीले जानकरी दिए ।
'शुक्रवारे हाटबजार अनुगमन क्रममा नजिकै रहेका मासु पसल अनुगमन गरियो ।' सेतोमसीसंग कुरा गर्दै वडा नं ७ का वडा अध्यक्ष समेत रहेका अधिकारीले भने, 'अनुगमनमा ६ केजी सडेको मासु फेला पर्यो । त्यसलाई डिस्पोज गरिएको छ ।'
उनका अनुसार फ्रीजमा राखिएको खसी/बाख्राको सडेको टाउको फेला परेको हो । सोही पसलमा यस अघिपनि सडेको खुट्टा भेटिएको र सजग गराइएको अधिकारीले जानकारी दिए ।
'दोस्रो पटक पनि सुध्रिने मौका दिएका छौं ।' उनले भने, 'यो अन्तिम मौका हो, यसपछि आवश्यक कारवाही हुन्छ ।'
देवदह नगरपालिकाले पछिल्ला दिनमा बजार अनुगमनलाई निरन्तरता दिएको छ । यसअघि शीतलनगरको सोमवारे हाट बजारमा अत्यधिक विषादीयुक्त रायोको साग फेला परेको थियो ।
यसैबीच नगरपालिकाले गर्ने अनुगमनको सूचना चुवाहट हुने र गलत कार्य गर्नेहरु बच्ने गरेको गुनासो स्थानीयले सेतोमसीसंग गरेका छन् । सूचना चुवाहट हुने विषयमा गरिएको प्रश्नमा अनुगमन प्रमुख अधिकारीले आगामी दिनमा गोपनियतालाई थप व्यवस्थित गरिने बताए । उनले केही पसल विना दर्ता संचालन भएको र केही पसलमा मूल्यसूची नराखिएको पाइएको समेत बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology