देवदह । देवदह नगरपालिकाले सञ्चालन गरेको बजार अनुगमनका क्रममा विभिन्न पसलबाट म्याद नाघेका तथा मापदण्डविपरीतका खाद्य सामग्री र पेट्रोल जफत गरी नष्ट गरेको छ । विहिवार सम्पन्न अनुगमनमा नियमविपरीतका खाद्य सामग्री र पेट्रोल जफत गरी नष्ट गरिएको नगर अनुगमन कृष्ण प्रसाद अधिकारीले जानकारी दिए ।
नगरपालिकाका बजार अनुगमन प्रमुख अधिकारीले अनुगमनका क्रममा देवदहका विभिन्न व्यवसायिक प्रतिष्ठानबाट उपभोगका लागि अनुपयुक्त सामग्री बरामद गरिएको बताए ।
अनुगमनका क्रममा श्रीस फिड्स सप्लायर्सबाट ५ डब्बा घ्यू जफत गरिएको छ । यस्तै, वडा नं. १ स्थित पाठक सप्लायर्स विविध सेवाबाट १६ डब्बा घ्यू, नमकिन, मसलेदार भटमासका ३ पोका तथा चाउमिनको १ पोका बरामद गरिएको छ ।
त्यसैगरी, बोहोरा किराना एण्ड दाना स्टोरबाट ८ लिटर पेट्रोल बरामद गरिएको छ भने एक्युब एण्ड रेग्मी स्टोरबाट ६ केजी मकैको आटा, जौको पिठोका ३ प्याकेट, दालमोटका २ प्याकेट र भटमासको १ प्याकेट जफत गरिएको छ ।
बरामद गरिएका सामग्री उपभोगका लागि अनुपयुक्त भएकाले सम्बन्धित व्यवसायीको रोहबरमा नष्ट गरिएको नगर अनुगमन प्रमुख अधिकारीले बताए । उनले उपभोक्ताको स्वास्थ्य र हितलाई ध्यानमा राख्दै नियमित रूपमा बजार अनुगमनलाई निरन्तरता दिइने तथा मापदण्डविपरीत कारोबार गर्ने व्यवसायीलाई कानुनबमोजिम कारबाही गरिने जानकारी दिए ।
नगरपालिकाले उपभोक्तालाई खाद्य सामग्री खरिद गर्दा उत्पादन तथा उपभोग मिति, गुणस्तर र प्याकेजिङसम्बन्धी विवरण अनिवार्य रूपमा जाँच गर्न समेत आग्रह गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology