बर्दघाट । बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर उकास्न परम्परागत शिक्षण शैलीको विकल्पमा आधुनिक र व्यवहारिक विधि भित्राउने अभ्यास थालेको छ । जसका लागि ‘गुणस्तरीय शिक्षा परियोजना’ अन्तर्गत नगरका ८ विद्यालयका शिक्षकहरू सम्मिलित ३ दिने ‘सक्रिय शिक्षण विधि’ सम्बन्धी कार्यशाला बिहीवारदेखि बर्दघाटको रोयल कटेजमा सुरु भएको हो ।
तालिम उद्घाटन गर्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरपालिकाले शिक्षा क्षेत्रको विकासका लागि भौतिक पूर्वाधारसँगै शिक्षण सिकाइ प्रक्रियामा ठूलो लगानी गरिरहेको बताए । श्रेष्ठले परम्परागत ‘रटेर पास गर्ने’ परिपाटीले विद्यार्थीको सर्वाङ्गीण विकास नहुने भन्दै कक्षाकोठाको वातावरण बदल्नुपर्नेमा जोड दिए ।
‘बर्दघाटका सामुदायिक विद्यालयहरूमा अब घोकाइ होइन, सबैले समान रूपमा सिक्ने अवसरको सिर्जना हुने वातावरण बनाइँदै छ ।’ नगर प्रमुख श्रेष्ठले भने, ‘हामी चाहन्छौँ, हाम्रा विद्यालयमा कोही पनि पछाडि नपरुन् र सिकाइ अर्थपूर्ण होस् ।’
कार्यक्रममा बोल्दै नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले अबको शिक्षाले विद्यार्थीलाई तनाव होइन, खुसी दिन सक्नुपर्ने धारणा राखे । बजारमा बिक्ने र टिक्ने जनशक्ति उत्पादन नै नगरपालिकाको लक्ष्य रहेको उनको भनाइ थियो । ‘बर्दघाटका विद्यार्थीले अब डराएर होइन, रमाएर सिक्नेछन् ।’ उनले भने, ‘यो तालिमले शिक्षकहरूलाई सहजकर्ताको रूपमा विकास गर्नेछ र हामी ‘टिक्ने’ दक्ष जनशक्ति निर्माणमा अगाडि बढ्नेछौँ ।’
समृद्ध समुदाय विकास केन्द्रको आयोजना र नगरपालिकाको समन्वयमा सञ्चालित तालिममा ‘चक र डस्टर’ भन्दा माथि उठेर विद्यार्थी केन्द्रित विधिहरूको अभ्यास गराइएको छ । प्रमुख प्रशिक्षक गिरमान थापाले सहजीकरण गरिरहेको तालिमको पहिलो दिन शिक्षकहरूले ‘थिङ्क–पेयर–सेयर’, ‘फिस बोल’, ‘जिग–स’ र ‘ब्रेनस्टोमिङ’ जस्ता विश्वप्रसिद्ध शिक्षण विधिहरूको प्रयोगात्मक अभ्यास गरेका छन् । यस्ता विधिहरूले विद्यार्थीको सहभागिता बढाउन र नेतृत्व विकास गर्न मद्दत पुर्याउने विश्वास लिइएको छ ।
केन्द्रका अध्यक्ष ठाकुर प्रसाद घिमिरेको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा सामाजिक विकास समिति संयोजक भिमकाजी गुरुङ्ग, शिक्षा अधिकृत डिल्लिराम ढुंगाना, सहायक शिक्षा अधिकृत धनपति पौडेल तथा गुणस्तरीय शिक्षा परियोजनाका सुपरिवेक्षक हुमनाथ आचार्य लगायतको उपस्थिति थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology