विष्णु पोखरेल, देवदह । वि. सं. २०१० सालमा स्थापना भएको देवदहस्थित केरवानी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन भोलि (मंगलबार) हुँदैछ । विद्यालय स्थापना भएको ६८ वर्षको इतिहासमा पहिलो पटक निर्वाचनमार्फत विद्यालय व्यवस्थापन समिति चयन हुन लागेको हो ।
हाल देवदह नगरपालिकाको भवन रहेको स्थानमा तत्कालीन अवस्थामा एउटा बगैंचा थियो । सोही स्थानमा बगोर प्राथमिक पाठशालाको नाममा हालको केरवानी माध्यमिक विद्यालयको सुरुवात भएको थियो । किस्मत बहादुर मनाङगामीको पहल र नेतृत्वमा स्थापित उक्त विद्यालयका प्रथम अध्यक्ष उनै मनाङगामी रहेको विद्यालयका प्रधानाध्यापक दुर्गादत्त शर्मा बताउँछन ।
हाल हुन गैरहेको विद्यालय व्यवस्थापन समितिको निर्वाचन कति औँ हो भन्ने सवालमा प्रअ शर्माले उक्त विषय ठ्याक्कै जानकारीमा नरहेको बताए । कहिले विद्यालय सहयोग समिति, कहिले विद्यालय संचालन समिति र कहिले विद्यालय व्यवस्थापन समितिको नाममा विद्यालयको नेतृत्व चयन हुने भएकोले पनि उक्त विषय जानकारीमा नरहेको उनको भनाइ छ । तर, निर्वाचन मार्फत समिति चयन हुन लागेको भने यो पहिलोपटक भएको उनले बताए ।
२०१० मा स्थापित उक्त विद्यालयबाट एसएलसी दिने पहिलो व्याज २०४५ सालको थियो । २०४५ सालमा एसएलसी (तत्कालीन माध्यमिक ) तहको अनुमती पाएको केरवानी माविले २०५५ सालमा १२ सम्मको अध्यापन गराउने अनुमती पाएको थियो ।
हाल जम्मा १ हजार ४ सय ३५ जना विद्यार्थी अध्ययनरत केरवानी माविका १ हजार १ सय १४ जना अभिभावक छन् । जसले भोलि हुने निर्वाचनमा मतदान गरी विद्यालयको नयाँ नेतृत्व चयन गर्नेछन् ।
केरवानी माविमा ५५ जना शिक्षक अध्यापनरत छन् । भने अन्य कर्मचारीको संख्या ५ रहेको छ ।
यसरी हुँदैछ निर्वाचन …
मंगलबार बिहान ९ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने प्रधानाध्यापक दुर्गादत्त शर्माले बताए । ९ बजेबाट सुरुभएको निर्वाचन अभिभावक लाईनमा रहेको अवस्थामा लम्बिन सक्ने तर उक्त स्थिति नरहेमा २ बजेसम्म विद्यालय प्रवेश गरिसकेका अभिभावकले मतदान गर्न पाउने व्यवस्था मिलाईएको प्रअ शर्माले जानकारी दिए ।
निर्वाचनमा ३ वटा वुथको व्यवस्था गरिने छ । जहाँ ६ वटा स्वस्तिक चिन्ह लगाउने (भोट गर्ने) स्थान रहने छन् ।
निर्वाचनलाई सहज परिचालन गर्न तीन सदस्यीय सहजीकरण संयन्त्र बनाईएको छ । जसमा नेकपा एमालेका नगर अध्यक्ष टिकाराम चापागाईं, नेपाली कांग्रेसका नगर अध्यक्ष गुनाखर भुर्तेल र नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष गोविन्द ठटराई रहेका छन् ।
निर्वाचन अवधिभर कुनैपनि विद्यार्थी र शिक्षकलाई (निर्वाचन प्रक्रियामा सहयोगीको रुपमा पहिले नै छानिएका बाहेक ) प्रवेश निषेध गरिएको प्रअ शर्माले बताए । निर्वाचनका लागि प्रमुख निर्वाचन आयुक्त सहित २१ जना कर्मचारी खटिनेछन् ।
त्यसैगरि निर्वाचनमा भाग लिएका ८ जना उम्मेदवारले पहिले नै तोकेर दिएका प्रतिउम्मेदवार २ जनाका दरले १६ जना उम्मेदवार प्रतिनिधि निर्वाचन क्षेत्र भित्र रहनेछन् । त्यसबाहेक सुरक्षाकर्मी र पत्रकारलाई प्रवेश दिईने प्रअ शर्माले बताए ।
भोलि हुने निर्वाचनमा संयुक्त गठनन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी) बाट विरेन्द्र पाण्डे, धनाकुमारी सापकोटा, पदमकुमारी रिजाल (सुष्मा) र सीता शर्मा काफ्ले तथा नेकपा एमाले प्यानलबाट देवी प्रसाद न्यौपाने, बालानन्द न्यौपाने, दिलमाया सुनार र माया भण्डारीले प्रतिस्पर्धा गर्दैछन् ।
माघ ५ गते निर्वाचन गर्ने तयारीका साथ पुस २३ गते नै उम्मेदवारी दर्ता गरिएको भएपनि कोभिड संक्रमण बढ्दै गएपछि २५ जना बाहेक भेला हुन नपाउने संघीय सरकारको निर्देशनका कारण उक्त निर्वाचन स्थगित गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology