काठमाडौँ । विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएपछि नेपाली काँग्रेसको नेतृत्व परिवर्तन हुने संकेत देखिएको छ ।
विशेष महाधिवेशनको उद्घाटन सत्र सकिदै गर्दा ५६ प्रतिशत भन्दा बढि महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गरेको जानकारी दिइएसँगै काँग्रेसमा देउवा युगको अन्त्य भएर अब गगन युगको शुरुवात हुने संकेत देखिएको हो ।
यद्यपी उद्घाटन समारोहमा सम्बोधन गर्दै दुवै महामन्त्रीले नेतृत्व परिवर्तन गर्ने विषय महाधिवेशन प्रतिनिधिको हातमा रहेको बताएर अन्तिम समयसम्म पार्टी नेतृत्वलाई सहभागी हुने अवसर दिएको बुझ्न सकिन्छ ।
अब सोमबार बिहान ८ बजेदेखि शुरु हुने बन्दसत्रले कार्यविधि बनाएर यस विशेष महाधिवेशनमा नीति निर्माणदेखि नेतृत्व परिवर्तनको एजेण्डा बारे निर्णय गर्ने बताइएको छ । विशेष महाधिवेशनमा सहभागी अधिकांश महाधिवेशन प्रतिनिधिहरुसँग कुरा गर्दा सबैले नेतृत्व परिवर्तनलाई नै प्राथमिकतामा राखेका छन् र अबको काँग्रेस गगन थापाले नै नेतृत्व गर्नुपर्ने बताएका छन् ।
अध्यरोहुन्जेल पुसको चिसोमा विशेष महाधिवेशनमा सहभागीले कार्यक्रम स्थल नछोडेर दुवै महामन्त्रीको भाषण सुन्ने धैर्यता राखेका कारण पनि आम कांग्रेसीजन अब नेतृत्व परिवर्तन हुनुपर्ने मनस्थितिमा स्पष्ट रुपमा रहेको सजिलै बुझ्न सकिन्छ ।
विशेष महाधिवेशनको पहिलो दिनले काँग्रेसको संस्थापन पक्षलाई अब पार्टीमा सत्ता ढलेको स्पष्ट सन्देश दिएको छ । काँग्रेसको सबैभन्दा ठुलो निकाय महाधिवेशन भएको र ६० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले एकमतले नयाँ नेतृत्व चयन गरेमा यसको कानुनी आधारमा समेत प्रश्न उठ्ने ठाउ देखिदैन ।
देशको सबैभन्दापुरानो दलमा जेनजी आन्दोलनपछि देखिएको अन्योलता र संस्थापन पक्षको जबर्जस्तीलाई महाधिवेशन प्रतिनिधिहरुले हस्तक्षेप गरेर चिरिदिएका छन् र महामन्त्रीद्वयलाई अगाडी बढ्ने जनादेश दिएका छन् ।
विशेष महाधिवेशनको पहिलो दिनले दिएको सन्देशलाई मनन गरेर दोस्रो दिनको बन्दसत्रमा सहभागी भएर सभापति शेरबहादुर देउवासहितको संस्थापन पक्षले आफ्नो अस्तित्व पार्टीमा कायम राख्नु पर्ने बाध्यात्मक अवस्थामा पुगेको छ ।
भृकुटीमण्डपले दिएको सन्देशलाई नजरअन्दाज गरेर फेरिपनि चलखेल र तिकडमको सहारा लिएमा देउवा र उनका निकट वरिष्ठ नेताहरुको राजनीतिक भविष्य यसै विशेष महाधिवेशनदेखि समाप्त हुने निश्चित छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology