देवदह । दशौँ देवदह महोत्सवमा स्थानीय उत्पादनको प्रवर्द्धनसँगै शिवालय सामुदायिक वनले उत्पादन गरेको अचानोको व्यापक माग देखिएको छ । महोत्सवमा राखिएको स्टलमा अचानो किन्न उपभोक्ताको घुइँचो लाग्ने गरेको छ ।
कुसुमको काठबाट तयार गरिएका अचानो हालसम्म १५० वटा बिक्री भइसकेका छन् । अचानोको मूल्य आकारअनुसार फरक-फरक छ । न्युनतम १५० रुपैयाँदेखि १६०० रुपैयाँसम्म अचानोको मूल्य रहेको वानकी कर्मचारी स्वस्तिका गिरीले बताइन् ।
'स्टलमा तीन पटकसम्म अचानोको स्टक थप गरिए पनि माग धान्न सकिएको छैन ।' गिरीले भनिन्, 'मेलामा अचानोको माग अत्यधिक छ । स्टक थप गर्दा पनि छिट्टै सकिन्छ।'
शिवालय सामुदायिक वनका अध्यक्ष रामचन्द्र पाध्यका अनुसार वनले करिब सात वर्षदेखि अचानो उत्पादन गर्दै आएको छ । पछिल्ला तीन वर्षदेखि अचानो देवदह महोत्सवमा बिक्री गर्दै आएको उनले बताए । 'देवदह महोत्सवमा स्टल राख्न थालेपछि हाम्रो उत्पादनको बजार विस्तार भएको छ र व्यापार फस्टाएको छ' उनले भने ।
महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको महोत्सवका संयोजक गणेश कुमार खातीले बताए । 'स्थानीय स्रोत र सीपलाई प्रोत्साहन गर्ने उद्देश्यले मेलामा स्थानीय उत्पादनलाई विशेष स्थान दिएका छौँ,' उनले भने ।
स्टल संयोजक अमृत बहादुर फुल्लेलले स्थानीय उत्पादनकर्तालाई प्रोत्साहन गर्न निशुल्क स्टल उपलब्ध गराइएको जानकारी दिए । स्थानीय उत्पादन सहज रूपमा बिक्री गर्न सकून् भनेर स्टल निःशुल्क व्यवस्था गरिएको उनको भनाइ छ ।
महोत्सव माघ ६ गतेसम्म सञ्चालन हुने क्रममा देवदह क्षेत्रको कृषि, उद्यम, हस्तकला, पहिचान र पर्यटन सम्भावनालाई एकै स्थानबाट उजागर गर्ने लक्ष्य राखिएको आयोजकको भनाइ छ ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, विज्ञान प्रदर्शनी, सिङ्गिङ आइडल, डान्सिङ स्टार, लोक भजन प्रतियोगिता, विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता, बाल उद्यान, आकर्षक सेल्फी तथा टिकटक जोनलगायत कार्यक्रमहरू समावेश छन् । २५० स्टल रहेको महोत्सवबाट १० करोड रुपैयाँभन्दा बढी कारोबार हुने अपेक्षा गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology