देवदह । शिवालय सामुदायिक वन उपभोक्ता समूह देवदह ५, ६ र ७ ले आर्थिक वर्ष २०८२÷०८३ का लागि ४१ लाख ८५ हजार रुपैंया अनुमानित बजेट विनियोजन गरेको छ ।
समूहको २३औं वार्षिक साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष रामचन्द्र पाध्याले काठदाउरा बिक्रि तथा संस्थागत आम्दानी लगाएत विभिन्न निकायबाट प्राप्त हुने अनुदान रकमसमेतलाई समावेश गरेर उक्त अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।
प्रस्तुत बजेटमा वन संरक्षण तर्फ १८ लाख ४० हजार, गरिवि न्यूनिकरण तर्फ २ लाख रुपैंया, सामुदायिक विकास तर्फ ५ लाख १५ हजार रुपैंया, पर्यापर्यटन तर्फ ३ लाख रुपैंया, तटबन्धका लागि १० लाख रुपैंया र कार्यालय संचालनका लागि ३ लाख ३० हजार खर्च हुने जनाइएको छ ।
अध्यक्ष पाध्याले आर्थिक वर्ष २०८१÷०८२ मा गरेका २५ बुँदे कार्यप्रगति प्रस्तुत गर्दै समूहका सदस्यहरुको सहयोग र सद्भावका कारण हरेक कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गर्न सम्भव भएको बताए । उनले समूहका सामु आगलागी नियन्त्रण, विरुवा संरक्षण, सुख्खा क्षेत्र, नदि कटान जस्ता मुख्य समस्या रहेको बताउँदै समस्याहरुसँग जुध्दै आफुहरु अघि बढेको जानकारी दिए ।
उनले चालु आर्थिक वर्षमा समूहको ड्रिम प्रोजेक्टको रुपमा रहेको शिवालय जैविक विविधता पार्कको डिपिआरमा रहेर भौतिक निर्माणको कार्यलाई अघि बढाईने उल्लेख गरे । समूहले नियमित कार्यक्रमलाई यसबर्ष पनि निरन्तरता दिने बताउँदै विभिन्न योजनाहरु प्रस्तुत गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सितलनगर सब डिभिजन वन कार्यालयका प्रमुख पुष्पराज श्रेष्ठले सामुदायिक वन संरक्षणमा उपभोक्ताको भुमिका महत्वपूर्ण हुने बताए । समूहका पदाधिकारीले समन्वय मात्र गर्ने र वन संरक्षणका असलि रक्षक समूहका उपभोक्ता भएको उल्लेख गरे ।
गाउँ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी, संस्थाका पूर्व अध्यक्ष दामोदर क्षेत्री, भिमलाल काफ्ले, देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष बासुदेव रिमाल, युगज्योती माविका प्रअ यमलाल अर्याल बुद्ध सामुदायिक वनका सचिव राधिका अर्याल, शिवालय टोल विकास संस्थाका अध्यक्ष गणेश बस्याल, उपभोक्ता टेकप्रसाद रिमाल लगाएतले बोल्दै सामुदायिक वन उपभोक्तामैत्री हुनुपर्नेमा जोड दिए ।
संस्थाका उपाध्यक्ष संगीता बिकको स्वागत र सचिव बाटुली कुमारी रेग्मी जमुनाको सञ्चालनमा भएको कार्यक्रममा बृक्षरोपण कार्यमा सहयोग गर्ने समूह क्षेत्र भित्रका टोलका प्रतिनिधिलाई सम्मान तथा १५ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology