लुम्बिनी । लुम्बिनी विकास कोषमा ‘योजना प्रमुख’ पद खारेज गर्न माग गरिएको छ । स्थानीय युवाहरूको संस्था रिस्पोन्स टिम लुम्बिनीले कोषका सदस्य सचिवलाई ज्ञापनपत्र बुझाउँदै पद खारेजीको माग गरेका हुन् ।
ज्ञापनपत्रमा मन्त्रीस्तरीय निर्णयका आधारमा सचिवसरहको हैसियत हुने गरी पद सिर्जना गरी नियुक्ति दिनु प्रचलित कानुन विपरीत भएको उल्लेख गर्दै तत्काल खारेज गर्न माग गरिएको छ । सचिवस्तरको दरबन्दी सिर्जना गर्न मन्त्रिपरिषद्को स्वीकृति, संगठन तथा व्यवस्थापन (O&M) सर्वेक्षण तथा राजपत्रमा प्रकाशन अनिवार्य भएपनि कुनै पनि प्रक्रिया नअपनाई विनियमावली संशोधनमार्फत पद सिर्जना गरिएको भन्दै संस्थाले आपत्ति जनाएको हो ।
संस्थाका संयोजक जमसेद आलम खानले माग तत्काल सम्बोधन नगरिए चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने चेतावनी दिइएका छन् ।
सुशील कोइराला नेतृत्वको तत्कालीन सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीम आचार्यले कोषमा सचिवस्तरको दरबन्दी सिर्जना गरेका थिए ।
तत्कालीन मन्त्री आचार्यले २०७१ सालमा कोषको पदाधिकारीसम्बन्धी नियमावली २०५८ को परिच्छेद ६ मा संशोधन गरी ‘योजना प्रमुख’ राखेर नियुक्ति दिलाएका थिए ।
संशोधित व्यवस्थामा कोषको अध्यक्षका हैसियतमा मन्त्री आचार्यले योजना प्रमुख अध्यक्षले मनोनयन गर्ने र सेवा सुविधा राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव)ले पाएसरह हुने उल्लेख छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology