काठमाडौँ । इरानमा इन्टरनेट सेवा अवरुद्ध भएको २६ दिन पुगेको छ, जसका कारण सर्वसाधारण नागरिक अन्तर्राष्ट्रिय सञ्जालबाट पूर्ण रूपमा अलगिएका छन् ।
इन्टरनेट अनुगमन गर्ने संस्था नेटब्लक्सका अनुसार ६०० घण्टाभन्दा बढी समयदेखि इन्टरनेट बन्द हुँदा नागरिकले बाहिरी संसारसँग सम्पर्क राख्न र सही सूचना प्राप्त गर्न नसक्ने अवस्था सिर्जना भएको छ। यसले दैनिक जीवन झनै कठिन बनाएको बताइएको छ ।
यसैबीच, इरानले आफ्नो विरोधमा नउत्रिएका जहाजलाई होर्मुज जलडमरु मार्ग हुँदै आवतजावत गर्न अनुमति दिन सकिने जनाएको छ। तर व्यवहारमा भने जहाजहरूको आवागमन अत्यन्तै कम भएको छ ।
संयुक्त राष्ट्रसंघमा रहेको इरानको नियोगले इरानविरुद्ध कुनै गतिविधिमा संलग्न नभएका र नियम पालना गर्ने जहाजले ‘सुरक्षित मार्ग’ प्रयोग गर्न सक्ने जनाएको छ। तर यस घोषणापछि पनि अवस्था सुधारिएको देखिएको छैन ।
पहिले दैनिक करिब १२० जहाज गुड्ने उक्त मार्गमा अहिले जम्मा ४-५ वटा मात्र जहाज आवतजावत गरिरहेका छन्। यसले समुद्री व्यापार लगभग ठप्प भएको संकेत गरेको छ।
होर्मुज जलडमरु मार्ग विश्वका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ, जहाँबाट करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति हुने गर्दछ। विज्ञहरूका अनुसार यो अवस्था लामो समयसम्म रहेमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १५० देखि २०० डलरसम्म पुग्न सक्ने सम्भावना छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology