काठमाडौं । इरानले ‘स्ट्रेट अफ हर्मुज’ खोलेको २४ घन्टा नवित्दै पुनः बन्द गरेको छ । इरानले शुक्रबार मात्रै युद्ध विराम अवधिभरका लागि ‘हर्मुज’ पूर्ण रुपमा खुल्ला गरेको घोषणा गरेको थियो । तर २४ घन्टा नवित्दै व्यस्त समुद्री मार्गमा पुनः प्रतिबन्ध लगाइएको हो । इरानले अमेरिकाले नाकाबन्दी कायम राखेको भन्दै ‘हर्मुज’ बन्द गर्ने निर्णय गरेको हो ।
अमेरिकासँग भएको वार्तापछि विश्वासका आधारमा केही तेल र सामान बोकेका जहाजहरूलाई आवतजावत गर्न दिइएको इरानले उल्लेख गरेको छ । तर अमेरिकाले आफ्नो प्रतिबद्धता पूरा नगरेको र नाकाबन्दीको बहानामा जहाजहरूमाथि कडाइ गरेको आरोप इरानले लगाएको छ ।
इरानले यसलाई युद्धविराम सम्झौताको उल्लङ्घन भएको बताउँदै अब ‘हर्मुज’ हुँदै हुने जहाजहरूको आवतजावत पूर्ण रूपमा सेनाको नियन्त्रणमा रहने जनाएको छ । साथै, अमेरिकाले आफ्ना बन्दरगाहमाथिको नाकाबन्दी नहटाएसम्म कुनै पनि जहाजलाई ‘हर्मुज’ बाट पार गर्न नदिने स्पष्ट चेतावनी दिएको छ ।
अमेरिकाले भने ‘हर्मुज’ सम्बन्धी नाकाबन्दी हटाउन अस्वीकार गरेको छ । डोनाल्ड ट्रम्पका अनुसार, इरानले अमेरिकासँग सम्झौता नगरेसम्म यो नाकाबन्दी जारी रहने छ । ट्रम्पले थप दाबी गर्दै इरानसँग रहेको प्रसोधित युरेनियम अमेरिका जसरी पनि आफ्नो नियन्त्रणमा लिने बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology