देवदह । बिहानको शान्त वातावरण, ध्यानमा मग्न बालबालिकाको अनुशासित पंक्ति र कलिला मस्तिष्कमा सकारात्मक ऊर्जा भर्न तल्लीन गुरुहरू । देवदह नगरपालिका वडा नं ५ स्थित लोकेश्वर मन्दिर पछाडिको जेष्ठ नागरिक मिलन केन्द्र यतिबेला बालबालिकाको जीवन रुपान्तरणको अभ्यासस्थल बनेको छ ।
वैशाख ९ गतेदेखि यहाँ सञ्चालन भएको ‘संस्कार शिक्षा’ कार्यक्रमले पुस्तान्तरणसंगै हराउँदै गएको मूल्य र व्यवहारलाई पुनः जगेर्ना गर्ने प्रयास थालेको छ ।वडा नं ५ को कार्यालयको पहल र आर्थिक व्यवस्थापनमा सञ्चालित कार्यक्रममा हरेकदिन ७० देखि १०० जनासम्म बालबालिकाले योग साधना र संस्कार शिक्षा सम्बन्धि प्रवचन श्रवण गरे ।
कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले विद्यालयसमेत बन्द भएको मौकामा अतिरिक्त ज्ञानको अवसर प्राप्त गरेको केरवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगाना बताउँछन् । ‘परिक्षा सकेर बसेका बालबालिकालाई विदाको अवसर पारेर वडाले अत्यन्तै सकारात्मक कार्यक्रम आयोजना गरेको हामीले पायौं ।’ प्रअ ढुंगानाले भने, ‘कार्यक्रमले बालबालिकालाई अध्ययन प्रति रुचीसँगै अतिरिक्त क्रियाकलाप र सामाजिक मुल्य मान्यतासँग जोड्ने काम गरेको छ ।’
कार्यक्रममा बाबबालिकाको रुची बढेसँगै अभिभावकहरु समेत दङ्ग छन् । संस्कार शिक्षाले स्वअनुशासन बढाएको आफुले अनुभुति गरेको बताउँदै स्थानीय अभिभावक प्रीति अधिकारीले आफ्नी छोरी नियमित कक्षामा सहभागी भएको र धेरै कुरा सिकाई भएको बारे आफुलाई बताउने गरेको सुनाईन् ।
जीवन विज्ञान देवदहसँगको सहकार्यमा आयोजित कार्यक्रममा प्रख्यात ज्योतिष विज्ञान विशेषज्ञदेखि मेडिकल चिकित्सकसम्मले बालबालिकालाई प्रशिक्षित गरेका छन् । यसबीचमा जीवन विज्ञानका स्थानीयदेखि केन्द्रिय प्रशिक्षकसम्मले बालबालिकाको सिकाइमा सहकार्य गरे ।
कार्यक्रममा सिकाइका विषयहरु
कार्यक्रमको पहिलो दिन नगरपालिकाका प्रवक्ता समेत रहेका गणेश डुम्रे र जीवन विज्ञानका प्रशिक्षक अम्बिका सुवेदीले प्रशिक्षण दिए । नगर प्रवक्ता डुम्रेले बालबालिकालाई योग सम्बन्धि प्रशिक्षण दिईरहँदा प्रशिक्षक अम्बिका सुवेदीले बाल संस्कार अन्तर्गत बालबालिकाको सोच, बानी व्यवहारलाई कसरी सकारात्मक बनाउने भन्ने विषयमा सिकाइन् ।
त्यसको अर्को दिन योग प्रशिक्षक केशव खनालले योग अभ्यासका फरक फरक आयामसँगै अध्ययनको सरल शैली तथा बालबालिकामा स्मरण शक्ति वृद्धिको लागि गरिने क्रियाकलापबारे जानकारी गराए । कार्यक्रममा बाल मैत्री अभियन्ता बबिता भट्टराईले बाल अधिकार, बालबालिकामा नेतृत्व शक्ति विकास, आत्मविश्वास कला, बालमैत्री आचारसंहिता लगाएत विषयमा प्रशिक्षण दिइरहँदा प्रशिक्षक दुर्गा बहादुर क्षेत्रीले योग अभ्यास र दैनिक व्यवहारिक जीवनका कठिनाइहरुलाई कसरी व्यस्थित गर्ने, मोबाइल लतको विकल्प, गलत सङ्गतको पहिचान र त्यस्ता बानीबाट कसरी मुक्ती पाउने भन्नेबारे चर्चा गरे ।
जीवन विज्ञान केन्द्रिय शिक्षा विभागका सदस्य हरि प्रसाद पोखरेलले योग अभ्याससँगै बाल संस्कारका व्यवहारिक पक्षहरुबारे विशेष प्रशिक्षण दिए । बालबालिकालाई बिहान किन छिटो उठ्ने, उठेर के के गर्ने, के खाने, के नखाने, बिहानीका नित्य कर्म (स्नान, ब्रस, स्वास प्रश्वास) का तौर तरिका, बालबालिकाको सोंचाइ सङ्गत लगायतका विषयमा समेत प्रशिक्षक पोखरेलले अभ्यास गराए ।
त्यसैगरी प्रशिक्षक ऋषि भक्त आचार्य र नमकान्त पाण्डेले योग ध्यान साधना अन्तर्गत योग अभ्यास, बाल बानी व्यवहार, सकारात्मक भावना, खुसीसँगै डर त्रास र तनाबबाट कसरी मुक्ती पाउने भन्ने विषयमा बालबालिकालाई जानकारी गराए ।
कार्यक्रम अन्तर्गत डा. अविस्कार पराजुलीले स्वस्थ जीवनशैली र आनीबानी बारे चर्चा गरे भने ज्योतिष जनार्दन न्यौपाने र सामाजिक अभियन्ता केशव खनालले बाल संस्कारको व्यवहारिक ज्ञान, प्रभावकारी शिक्षण सिकाई तथा असल बिद्यार्थीमा हुनुपर्ने गुणहरुबारे चर्चा गरे ।
यसरी दैनिक रुपमा बिहानको दुई घण्टा बालबालिकासँग अन्तरक्रिया गरेका प्रशिक्षकहरुले ध्यान, प्राणायाम, सकारात्मक ऊर्जा, समय व्यवस्थापन, लक्ष्य निर्धारण र संस्कारयुक्त जीवनशैलीबारे व्यावहारिक ज्ञान दिएका छन् ।
कार्यक्रममा सहभागी बालबालिकाहरूले आफूहरूमा सकारात्मक परिवर्तन आएको अनुभव सुनाए । केही बालबालिकाले ध्यान र योग अभ्यासले एकाग्रता बढेको, रिस नियन्त्रण गर्न सहज भएको र पढाइप्रति रुची बढेको प्रतिक्रिया दिएका छन् ।
परम्परागत संस्कार शिक्षाको पुनर्जागरण
कुनैपनि समाजमा संस्कार शिक्षा परिवार र समुदायबाट पुस्तान्तरण हुँदै आउने अभ्यास हो । अभिवादन गर्ने तरिका, आँफुभन्दा ठुलाको सम्मान, सानालाई गरिने माया, सत्य बोल्ने बानी, अनुशासन र सहकार्य जस्ता विषयहरु जीवनका आधारभूत मूल्यहरू हुन् । परम्परागत रूपमा यि र यस्ता विषय सिकाइने गरिएपनि आधुनिकतासँगै यो कमजोर बन्दै गएको छ । आधुनिक जीवनशैली र प्रविधिको प्रभावसँगै यस्ता मूल्य मान्यताहरुहरू कमजोर बन्दै गएका हुन कि भन्ने तर्फ सरोकारवालाहरु चिन्तित छन् ।
देवदहमा सञ्चालन गरिएको ‘संस्कार शिक्षा’ कार्यक्रमले परम्परागत मूल्यलाई आधुनिक शिक्षासँग जोड्ने प्रयास गरेको छ । कार्यक्रममा योग र ध्यानसंगै दैनिक जीवनमा अपनाउन सकिने व्यवहार, सामाजिक जिम्मेवारी, आत्मअनुशासन र सकारात्मक सोच विकासमा जोड दिइएको छ । यसले बालबालिकालाई विद्यार्थीको रुपमा मात्र नभई जिम्मेवार नागरिक बन्ने दिशातर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ ।
वडा नं ५ का जनप्रतिनिधिहरूले यस्तो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताएका छन् । वडा अध्यक्ष गणेश डुम्रे यो कार्यक्रमलाई हरेक विद्यालयमा पु¥याउने योजनामा छन् । ‘बुद्ध पुर्णिमा लगत्तै विद्यालयका शिक्षकलाई प्रशिक्षण दिने र शिक्षकले आफ्ना विद्यार्थीलाई आफ्नै विद्यालयमा कक्षा सञ्चालनको तयारी गरेका छौं ।’ अध्यक्ष डुम्रेले भने, ‘बालबालिकालाई सानै उमेरदेखि सही संस्कार र मार्गदर्शन दिन सके भविष्यमा जिम्मेवार नागरिक उत्पादन गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु ।’ आगामी वर्षहरूमा समेत कार्यक्रमलाई अझ व्यवस्थित र विस्तार गर्ने योजना बनाइएको वडा कार्यालयले जनाएको छ ।
अध्यात्मिक नगर बनाउने संकल्प र संस्कार शिक्षा
देवदह नगरपालिकाले समग्र नगरलाई अध्यात्मिक नगरको रूपमा विकास गर्ने लक्ष्य लिएको छ । नगरप्रमुख ध्रुवप्रसाद खरेल देवदह ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण भूमि भएकाले देवदहलाई अध्यात्मसँग जोडेर विकास गर्ने योजना अघि सारिएको बताउँछन् । बुद्धमाता मायादेवी, जीवनसंगिनी यशोधरा र बुद्धलाई लालनपालन गर्ने प्रजावती गौतमीको जन्मस्थलको रूपमा परिचित देवदहको पहिचानलाई अझ मजबुत बनाउने उद्देश्यले अध्यात्मसँग यसलाई जोड्न खोजिएको उनले बताए ।
नगर प्रमुख खरेलका अनुसार अध्यात्मिक पर्यटन प्रवद्र्धनसँगै स्थानीय नागरिकमा नैतिकता, अनुशासन र सकारात्मक सोच विकास गर्नु पनि नगरपालिकाको प्राथमिकतामा रहेको छ । ‘संस्कार शिक्षा’ जस्ता कार्यक्रमहरू सोही लक्ष्यअनुसार सञ्चालन गरिएका पहलहरू हुन् ।
देवदह नगरपालिका वडा नं ५ ले सुरु गरेको संस्कार शिक्षालाई वडा नं ६ र ७ अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयले समेत निरन्तरता दिने जनाएका छन् । वडा नं ५ को प्रयास अत्यन्तै सकारात्मक रहेको भन्दै विद्यालयका प्रधानाध्यापकहरुले संस्कार शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन एक–एक जना शिक्षकलाई प्रतिनिधिको रुपमा चयन गर्ने जनाएका छन् । ति शिक्षकहरुका लागि वडाले जीवन बिज्ञान सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गर्ने जनाएको छ ।
यसरी घर, समुदाय र विद्यालयबाट समेत संस्कार शिक्षा प्रदान गरिएपछि बालमैत्री वातावरण निर्माण हुने, लागू औषध नियन्त्रण, बालबिवाह कुलत लगायत वर्तमानमा देखिएका गम्भीर बाल समस्या समाधान हुने विश्वास लिइएको छ ।
संस्कार शिक्षालाई नगरका १२ वटै वडाका सबै विद्यालयमा सञ्चालन गर्न सकिए देवदहको आध्यात्मिक पहिचान अझै उँचो हुने देखिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology