देवदह । वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार दैनिक २,२०० भन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि देश छोड्न बाध्य छन् । यसरी विदेश पुग्ने सबै नेपालीलाई सधै एकैनास हुन्छ भन्ने छैन । हजारौं सपना सजाएर विदेश पुगेका लाखौँ नेपालीमध्ये दैनिक ४ जनाको शव एयरपोर्टमा आउँछ । वैदेशिक रोजगारको क्रममा ठगिने र कार्यस्थलमा हुने दुर्घटनाबाट घाइते वा अंगभंग हुनेको संख्या झन् ठुलो छ ।
यसरी वैदेशिक रोजगारीमा गएका नागरिक र उनीहरूका परिवारलाई समस्या पर्दा सहायता प्राप्त गर्न जिल्ला सदरमुकाम वा काठमाडौं धाउनुपर्ने अवस्था धेरै ठाउँमा अझै कायम छ । तर रुपन्देहीको देवदह नगरपालिकाले स्थानीय तहबाटै सहजीकरण गरी वैदेशिक रोजगारीका पीडित परिवारलाई राहत दिलाउने कार्य गर्दै आएको छ ।
रोजगारीको हक सम्बन्धी ऐन, २०७५ अनुसार स्थापना गरिएको रोजगार सेवा केन्द्र (रोजगार शाखा) मार्फत देवदह नगरपालिकाले वैदेशिक रोजगार बोर्ड सचिवालयबाट उपलब्ध हुने विभिन्न सहायता तथा सेवाहरू स्थानीयस्तरमै सहजीकरण गर्दै आएको हो । यसले वैदेशिक रोजगारीमा रहेका श्रमिक र तिनका परिवारलाई सरकारी सेवा लिन सहज भएको छ ।
वि. सं. २०७७ सालदेखि हालसम्म रोजगार सेवा केन्द्रमार्फत वैदेशिक रोजगार बोर्डबाट उपलब्ध हुने विभिन्न सहायता कार्यक्रमको सहजीकरण गरिएको देवदह नगरपालिकाका रोजगार संयोजक दिनेश लम्सालका बताउँछन् । यस अवधिमा ५१ परिवारलाई झण्डै ३ करोड अर्थात् २ करोड ८९ लाख ८७ हजार रुपैयाँ बराबरको आर्थिक सहायता प्रभावित परिवारसम्म पुग्न सहजीकरण गरिएको उनको भनाई छ ।
रोजगार शाखाबाट सेतोमसीलाई प्राप्त तथ्यांक अनुसार वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका २७ जनाका परिवारलाई २ करोड २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको छ । यसले आफन्त गुमाएको पिडासंगै विमा दावीको लागि मृत्यु दर्ता प्रमाणपत्र बोकेर काठमाडौं धाउनुपर्ने एउटा दर्दनाक कथाको अन्त्य गरिदिएको छ ।
यसैगरी वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकको बाँकी तलब तथा अन्य आर्थिक सहायता स्वरूप विदेशबाट प्राप्त हुने ६५ लाख रुपैयाँ रकम परिवारसम्म पुग्न समेत नगरपालिकाले सहजीकरण गरेको छ । यसले कमाउन र परिवारमा सुखका दिन फर्काउँन विदेश पुगेको आफन्त कहिल्यै नफर्किने गरी अस्ताएको पिडामा आर्थिक अभावले थपिदिने अर्को पिडालाई केहि हदसम्म कम गर्न मदत पुगेको छ ।
त्यसैगरी नगरपालिकाले बिरामी तथा अंगभंग भएका ४ जनालाई १५ लाख ७५ हजार रुपैयाँ, परिवारका सदस्यको गम्भीर स्वास्थ्य उपचारका लागि ३ जनालाई १ लाख ५० हजार रुपैयाँ र छात्रवृत्तितर्फ ५ लाख १२ हजार रुपैयाँ उपलब्ध गराउन सहजीकरण गरेको तथ्यांक छ ।
रोजगार शाखाले आर्थिक सहायता मात्रै होइन, मृत्यु भएका श्रमिकको शव नेपाल ल्याउने, विमानस्थलबाट घरसम्म निःशुल्क ढुवानीको व्यवस्था मिलाउने, ठगीमा परेका श्रमिकका उजुरी सम्बन्धित निकायसम्म पुर्याउने तथा पीडित परिवारलाई परामर्श सेवा उपलब्ध गराउने काम समेत गर्दै आएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ मा मात्रै ६ परिवारलाई क्षतिपूर्ति, २ जनालाई बिरामी तथा अंगभंग सहायता, १३ जनालाई छात्रवृत्ति तथा ४ वटा शव नेपाल ल्याउने र घरसम्म ढुवानी गर्ने कार्यमा सहजीकरण गरिएको तथ्यांक छ । यस वर्ष मात्र रोजगार सेवा केन्द्रको सिफारिस र सहजीकरणबाट ६३ लाख ४३ हजार रुपैयाँ बराबरको सहायता प्रभावित परिवारले प्राप्त गरेका छन् ।
देश संघीयता व्यवस्थामा गएसंगै स्थानीय स्तरबाटै सिंहदरवारको सेवा दिनुपर्छ भन्ने चिन्तनसहित देवदह नागरपालिकाले वैदेशिक रोजगारीको क्रममा आइपर्ने समस्यामा सहजीकरण गरिएको नगर प्रमुख ध्रुव प्रसाद खरेल बताउँछन् ।
'सीमित श्रोत र साधन अनि संघीय कार्यालयमा अत्यन्त कम पहुँचका बीच पनि हामीले नगरवासीको सेवा गर्नुपर्छ र सकेजति गरेका छौं ।' नगर प्रमुख खरेलले भने, 'हाम्रो उद्देश्य सकेसम्म नागरिकलाई देशमै रोजगारी र उद्यममा अवसर सिर्जना गर्ने हो तर विदेश नै गएको अवस्थामा पनि हामी दायित्वबाट पन्छिन मिल्दैन भनेर नै रोजगार शाखालाई सहजीकरण कार्य व्यवस्थित गराउँने जिम्मेवारी दिएका छौं ।'
वैदेशिक रोजगार बोर्डले स्थानीय तहलाई सूचनामा पहुँच दिएको अवस्थामा कार्य सम्पादन गर्न अझै सहज हुने नगर प्रमुख खरेलको भनाई छ ।
नेपाल श्रमशक्ति सर्वेक्षण, २०७४ अनुसार देशको बेरोजगारी दर ११.४ प्रतिशत रहेको छ । पुरुषको बेरोजगारी दर १०.३ प्रतिशत र महिलाको १३.१ प्रतिशत छ । शहरी क्षेत्रमा ११.६ प्रतिशत र ग्रामीण क्षेत्रमा १०.९ प्रतिशत बेरोजगारी रहेको तथ्यांकले देखाउँछ ।
राष्ट्रिय जनगणना, २०७८ अनुसार देवदह नगरपालिकामा पनि कुल जनसंख्याको ११.५ प्रतिशत बेरोजगार रहेको देखिएको छ ।
स्थानीयस्तरमा रोजगारीका अवसर सीमित हुँदा ठूलो संख्या वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेको रोजगार सेवा केन्द्रको तथ्यांकले देखाउँछ ।
देवदह नगरपालिकामा बेरोजगार सूचीमा सूचीकृत हुनेको संख्या आर्थिक वर्षअनुसार निकै उतारचढावपूर्ण देखिन्छ । आर्थिक वर्ष २०७७/७८ मा कोभिड–१९ महामारीका कारण स्वदेश तथा विदेशबाट फर्किएका श्रमिकको संख्या बढ्दा बेरोजगार सूचीमा सूचीकृत हुनेको संख्या १ हजार ८ पुगेको थियो । यो पछिल्ला वर्षहरूको तुलनामा अस्वाभाविक रूपमा उच्च संख्या हो ।

कोभिडको प्रभाव कम भएसँगै आर्थिक वर्ष २०७८/७९ मा सूचीकृत बेरोजगारको संख्या घटेर ११० मा झर्यो । त्यसपछि २०७९/८० मा १६३ र २०८०/८१ मा २१६ पुगेर पुनः वृद्धि भयो । यसले स्थानीयस्तरमा पर्याप्त रोजगारी सिर्जना हुन नसकेको र श्रम बजारमा अझै दबाब रहेको जनाउँछ ।
तर २०८१/८२ र २०८२/८३ मा सूचीकृत संख्या समान रूपमा १२४-१२४ मा सीमित रहनुले बेरोजगारीको अवस्था केही स्थिर बन्दै गएको देखिन्छ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि हालसम्म ४२ जना मात्र सूचीकृत भएको रोजगार शाखाको तथ्यांक छ ।
देवदह नगरपालिकाको तथ्यांकले प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय तहमा बेरोजगार नागरिकका लागि महत्वपूर्ण सुरक्षा कवचका रूपमा काम गरिरहेको देखाउँछ । विशेषगरी रोजगारीको अवसर सीमित भएका, विपन्न तथा श्रममा आधारित आयमा निर्भर परिवारका लागि यो कार्यक्रमले न्यूनतम आम्दानीको स्रोत उपलब्ध गराउँदै आएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा कोभिड–१९ महामारीका कारण बेरोजगारको संख्या अस्वाभाविक रूपमा बढेर १ हजार ८ पुगेको थियो । त्यस्तो कठिन परिस्थितिमा पनि ७३ जनालाई १०० दिने रोजगार उपलब्ध गराइनु स्थानीय सरकारको सक्रिय प्रयासका रूपमा लिन सकिन्छ । महामारीका बेला धेरै परिवारका लागि यो रोजगार कार्यक्रम तत्कालीन राहतको माध्यम बनेको थियो ।
कोभिडपछिको आर्थिक वर्ष २०७८/७९ मा सूचीकृत ११० जनामध्ये ६६ जनाले रोजगार प्राप्त गरे, जुन करिब ६० प्रतिशत हो । यसले कार्यक्रमले लक्षित समूहसम्म प्रभावकारी पहुँच बनाएको देखाउँछ । त्यसपछिका वर्षहरूमा पनि हरेक वर्ष दर्जनौं नागरिकले रोजगार प्राप्त गर्दै आएका छन् ।
पछिल्ला ६ वर्षको तथ्यांक हेर्दा २९४ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत प्रत्यक्ष रोजगार प्राप्त गरेका छन् । रोजगार प्राप्त गर्ने यी व्यक्तिहरूले १०० दिनसम्मको आयआर्जन मात्र गरेका छैनन्, स्थानीय पूर्वाधार निर्माण, सरसफाइ, संरक्षण तथा सामुदायिक विकासका काममा समेत योगदान दिएका छन् ।
विशेषगरी बेरोजगारीको उच्च दर रहेको अवस्थामा स्थानीय तहमा उपलब्ध हुने १०० दिने रोजगार कार्यक्रमले पूर्ण समाधान नदिए पनि न्यूनतम आम्दानी सुनिश्चित गर्ने, श्रमिकलाई श्रम बजारसँग जोडिराख्ने र आर्थिक रूपमा कमजोर परिवारलाई कठिन समयमा सहारा दिने महत्वपूर्ण सामाजिक सुरक्षा कार्यक्रमका रूपमा भूमिका निर्वाह गरिरहेको देखिन्छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार देवदह नगरपालिकामा १७ हजार ३०० घरधुरीमा ७२ हजार ४५७ जनसंख्या रहेको छ । रोजगार सेवा केन्द्रको अनुमान अनुसार तीमध्ये करिब ७ हजार नागरिक वैदेशिक रोजगारीमा छन् ।
यो तथ्यांकलाई जनसंख्यासँग तुलना गर्दा देवदहका कुल जनसंख्याको झण्डै ९.७ प्रतिशत, अर्थात् हरेक १० जनामध्ये एक जना वैदेशिक रोजगारीमा रहेको देखिन्छ । श्रमयोग्य उमेर समूहको जनसंख्यालाई आधार मान्ने हो भने यो अनुपात अझ उच्च हुन पुग्छ ।
घरधुरीका आधारमा विश्लेषण गर्दा नगरपालिकाका हरेक २.५ घरधुरीमध्ये एक घरधुरी वैदेशिक रोजगारीसँग प्रत्यक्ष रूपमा जोडिएको देखाउँछ । अर्थात् देवदहको सामाजिक र आर्थिक जीवनमा वैदेशिक रोजगारी प्रमुख आधार बनेको देखिन्छ ।
मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया, रोमानिया, क्रोएसिया, माल्टा, साइप्रस र माल्दिभ्स देवदहका श्रमिकका समेत प्रमुख गन्तव्य बनेका छन् ।
तथ्यांकले समग्र देशको जस्तै देवदहमा पनि वैदेशिक रोजगारी केवल व्यक्तिगत रोजाइ नभई नगरको अर्थतन्त्र र हजारौं परिवारको जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएको विषय बनेको देखाउँछ । यही कारण वैदेशिक रोजगारीमा रहेका नागरिक र तिनका परिवारलाई स्थानीय तहबाट सेवा, सहायता र सहजीकरण उपलब्ध गराउनु देवदह नगरपालिकाका लागि महत्वपूर्ण जिम्मेवारीका रूपमा स्थापित भएको छ ।
वैदेशिक रोजगारीले हजारौं परिवारको आर्थिक अवस्था सुधार्न योगदान पुर्याएको भए पनि देवदह नगरपालिकाको तथ्यांकले यसको अर्को पीडादायी पक्ष पनि उजागर गर्छ । पछिल्लो ६ वर्षमा वैदेशिक रोजगारीका क्रममा २७ जना श्रमिकको मृत्यु भएको छ । अर्थात् औसतमा प्रत्येक वर्ष करिब ४.५ देखि ५ जना देवदहवासी श्रमिकले विदेशमै ज्यान गुमाउने गरेका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा १ जनाको मृत्यु भएकोमा २०७८/७९ मा यो संख्या ५ पुग्यो । २०७९/८० मा ४ जना, २०८०/८१ मा सबैभन्दा बढी ८ जना, २०८१/८२ मा ३ जना र २०८२/८३ मा पुनः ६ जनाको मृत्यु भएको तथ्यांक छ । वर्षअनुसार संख्या घटबढ भए पनि हरेक वर्ष मृत्युका घटना दोहोरिनु आफैंमा चिन्ताजनक अवस्था हो ।
देवदहबाट करिब ७ हजार नागरिक वैदेशिक रोजगारीमा रहेको अनुमानलाई आधार मान्दा पछिल्लो ६ वर्षमा विदेशमा रहेका प्रत्येक एक हजार श्रमिकमध्ये करिब ४ जनाले ज्यान गुमाएको देखिन्छ । यो संख्या प्रतिशतका हिसाबले सानो देखिए पनि प्रत्येक घटना एउटा परिवारको अभिभावक, सन्तान, श्रीमान् वा श्रीमती गुम्नु हो ।
संघीय सरकारले उपलब्ध गराउने सहायता र सेवाबारे धेरै परिवार अनभिज्ञ हुने, प्रक्रिया जटिल लाग्ने तथा पहुँचको अभाव हुने अवस्था रहेको छ । देवदह नगरपालिकाले रोजगार सेवा केन्द्रमार्फत त्यस्ता परिवारलाई कागजात संकलनदेखि सिफारिस, समन्वय र सहायता प्राप्तिसम्म सहजीकरण गर्दै आएको छ ।
वैदेशिक रोजगारीका कारण उत्पन्न हुने सामाजिक, आर्थिक र मानवीय समस्याका बीच स्थानीय तहबाटै सेवा प्रवाह गर्ने यो अभ्यासले पीडित परिवारलाई राहत दिनुका साथै राज्यका सेवाप्रति नागरिकको पहुँच र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । स्थानीय सरकारको प्रभावकारी कदमले वैदेशिक रोजगारीका पीडित परिवारलाई कठिन समयमा सहारा दिने काम गरिरहेको छ ।
वैदेशिक रोजगारीमा गएका नागरिकका समस्या समाधानमा स्थानीय सरकारको भूमिका सीमित हुने धारणा रहँदै आएको अवस्थामा देवदह नगरपालिकाले रोजगार सेवा केन्द्रमार्फत गरेको सहजीकरणलाई स्थानीय तहबाट प्रदान गरिएको प्रभावकारी सार्वजनिक सेवाको उदाहरणका रूपमा लिन सकिने देखिन्छ ।
संघीय सरकारबाट उपलब्ध हुने सहायता तथा सुविधालाई नागरिकको घरदैलो नजिकै पुर्याउने अभ्यासले पीडित परिवारलाई राहत मात्र दिएको छैन, राज्यप्रतिको विश्वास समेत बढाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology