देवदह । सडक र भवन निर्माण लगायतका भौतिक पूर्वाधार मात्रै विकास ठान्ने आधुनिक परिपाटीका बीच देवदह नगरपालिकाले वर्षौदेखि एउटा भिन्न र मानवीय कार्यलाई आफ्नो प्राथमिकतामा राखेको छ । आर्थिक वर्ष २०७९/०८० देखि नेपाल रेडक्रस सोसाइटीसंग सम्झौता गरी नगरपालिकाले नगरवासीलाई निशुल्क रगत उपलब्ध गराउँदै आएको छ ।
यसले गम्भीर बिरामी पर्दा वा दुर्घटना हुँदा शुल्क तिरेर रगतको जोहो गर्नुपर्ने बाध्यताबाट देवदहवासीले मुक्ति पाएका छन् ।
डोनरले निशुल्क रगत दिने भएपनि रगतलाई सुरक्षित गर्दा र आवश्यक परीक्षण गर्दा निस्किने खर्च रक्तसंचार सेवा केन्द्रले सेवाग्राहीबाट लिनेगर्छ । जसले एकातिर आवश्यक रगत नपाइने समस्यासंगै रगतलाई प्रतीपिन्ट ९५० रूपैयाँसम्म तिर्नुपर्ने वाध्यता विरामीका आफन्तलाई आइपर्छ । आफ्ना नागरिकले लिएको रगत वापतको रकम नगरपालिकाले एकमुष्ट तिर्ने व्यवस्था गरेपछि रगत किन्नका लागि पैसा खोज्नुपर्ने अवस्थाका नागरिकले राहत महसुस गरेका छन् ।
आर्थिक रुपमा बिपन्न नागरिकहरु नगरपालिकामा सहयोगको लागि पुगिरहने र विरामीलाई चढाउनुपर्ने रगत किन्ने पैसा पनि आफुसंग नभएको दुखेसो गरेको सुनेपछि नगर सरकारले कम्तिमा रगतसम्म निशुल्क उपलब्ध गरानुपर्छ भन्ने उद्धेश्यले रेडक्रस सोसाइटीसंग सम्झौता गरिएको नगर प्रमुख ध्रुव प्रसाद खरेल बताउँछन् । 'खासमा यो आर्थिक रुपमा बिपन्नहरुको साथमा स्थानीय सरकार छ भन्ने महसुस उनीहरुलाई गराउनको लागि सुरु गरिएको अभियान हो ।' प्रमुख खरेल भन्छन् , 'यसले जसको कोहि छैन, त्यसको साथमा सरकार छ भन्ने महसुस नगरवासीमा भएको छ ।'
सिमित स्रोतका कारण आफुहरुले चाहे अनुसारको काम गर्न सम्भव नभएको उल्लेख गर्दै प्रमुख खरेलले शिक्षा र स्वास्थ्य पूर्णरूपमा निशुल्क गर्ने दायित्व संघीय सरकारले पुरा गर्नुपर्ने बताए । 'शिक्षा र स्वास्थ्य पूर्ण रूपमा निशुल्क भयो भने अहिले देखिएका धेरै समस्या हाल हुन्छन, संघीय सरकारले चाह्यो भने यो असम्भव छैन' प्रमुख खरेलले भने ।
५ वर्षमा १०५२ जना लाभग्राहीलाई निःशुल्क २३५१ पिन्ट रगत
आर्थिक वर्ष २०७८/७९ मा १५ जना नगरवासीले रक्तसंचार सेवा केन्द्र बुटवल र भैरहवा शाखाबाट १०३ पिन्ट रगत लिएको तथ्यांक नगरपालिकाको स्वास्थ्य शाखासंग छ । तत्कालिन अवस्थामा आर्थिक रुपमा विपन्नलाई नगरपालिकाले सिफारिस गरि निशुल्क रगत दिने व्यवस्था थियो । यसले विरामीका आफन्तलाई बारम्बार नगरपालिका कार्यालय धाउनुपर्ने बाध्यता देखिएपछि देवदहवासी भएको प्रमाणको आधारमा सबैलाई निशुल्क रगत उपलब्ध गराउने गरी नगरपालिकाले सम्झौता गर्यो । यसले सेवाग्राहीलाई सहज बनाएको र प्रतिवेदन र प्रमाणका आधारमा नगरपालिकाले रेडक्रस सोसाइटीलाई एकमुष्ट रकम बुझाउने गरेको स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले जानकारी दिए ।
२०७८/७९ देहि चालु आर्थिक वर्षको हालसम्म १०५२ जना नागरिकले २३५१ पिन्ट रगत तथा रक्ततत्व निःशुल्क प्राप्त गरेका छन् । जसको लागि नगरपालिकाले हालसम्म २२ लाख १० हजार २७५ रुपैयाँ खर्च गरेको तथ्यांकले देखाउँछ ।
वर्षेनी बढ्दो सेवाग्राही संख्या
तथ्यांकले निशुल्क रगत कार्यक्रमप्रति नागरिकको पहुँच र विश्वास दुवै बढिरहेको संकेत गर्छ । प्रारम्भिक वर्षमा सीमित प्रयोग भएको सेवा अहिले नियमित आवश्यकतामा परिणत भएको देखिन्छ । उपलब्ध तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा १५ जनाले १०३ पिन्ट रगत प्राप्त गरेका थिए । त्यसबेला नगरपालिकाले ७४ हजार ६७५ रुपैयाँ खर्च गरेको थियो । त्यसपछि कार्यक्रमको पहुँच क्रमशः विस्तार हुँदै गएको देखिन्छ ।
आर्थिक वर्ष २०७९/८० मा लाभग्राही संख्या १२३ पुगेको छ भने ३६४ पिन्ट रगत वितरण गरिएको थियो । त्यस वर्ष ३ लाख ४५ हजार ८०० रुपैयाँ खर्च भएको तथ्यांकमा उल्लेख छ ।

आर्थिक वर्ष २०८०/८१ मा ९९ जना लाभग्राहीले १०९ पिन्ट रगत प्राप्त गरेका छन् । यो अवधिमा १ लाख ३ हजार ५५० रुपैयाँ खर्च भएको छ ।
सबैभन्दा उल्लेखनीय वृद्धि आर्थिक वर्ष २०८१/८२ मा देखिन्छ । उक्त वर्ष ४८१ जना लाभग्राहीलाई १०२९ पिन्ट रगत उपलब्ध गराइएको थियो । यसका लागि ९ लाख ७७ हजार ५५० रुपैयाँ खर्च भएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को श्रावणदेखि जेठ मसान्तसम्म मात्रै ३२६ जनाले ७४६ पिन्ट रगत प्राप्त गरिसकेका छन् । यस अवधिमा ७ लाख ८ हजार ७०० रुपैयाँ खर्च भएको तथ्यांकले देखाउँछ ।
स्वास्थ्य सुरक्षामा स्थानीय सरकारको सक्रियता
नेपालमा अधिकांश स्थानीय तहले स्वास्थ्य क्षेत्रमा पूर्वाधार, औषधि वा शिविर केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेका बेला देवदहले उपचार प्रक्रियामा अत्यावश्यक मानिने रगत व्यवस्थापनलाई प्राथमिकतामा राखेको देखिन्छ ।
रगतको लागत आफैंमा धेरै महँगो नदेखिए पनि आकस्मिक अवस्थामा पटक–पटक रगत आवश्यक पर्दा परिवारमाथि आर्थिक भार थपिने गर्छ । यस्तो अवस्थामा स्थानीय सरकारले शुल्क व्यहोर्दा उपचार सहज हुने गरेको स्थानीयको भनाइ छ ।
त्यसो त स्वाथ्य विमाको प्रथम बिन्दु र विशेषज्ञ सेवा सहितको नगर अस्पताल नै संचालन गरेर देवदह नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको पुष्टि गरेको छ ।
के छ सम्झौता ?
देवदह नगरपालिका र नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाबीच नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने उद्देश्यसहित गरिएको औपचारिक सम्झौता हरेक वर्ष नवीकरण हुन्छ । आवश्यकता अनुसार नयाँ शर्त थपघट गर्नको लागि यस्तो गरिएको नगरपालिकाको भनाइ छ ।
सम्झौतामा नगरपालिकाले सेवा शुल्क व्यहोर्ने र रेडक्रसले आवश्यकताका आधारमा रगत उपलब्ध गराउने व्यवस्था गरिएको छ । सम्झौतामा देवदह नगरपालिकाका नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने, रक्तसञ्चार सेवाका लागि रक्त संकलन कार्यक्रममा सहकार्य गर्ने तथा प्रत्येक वडामा नियमित रक्तदान शिविर आयोजना गर्ने व्यवस्था उल्लेख गरिएको छ ।
सम्झौताअनुसार रक्तसञ्चार सेवाले प्रत्येक महिनाको खर्च विवरण नगरपालिकामा पेश गर्नुपर्नेछ । सेवाग्राही देवदहकै बासिन्दा भएको प्रमाणित गर्ने कागजात अनिवार्य गरिएको छ । आकस्मिक अवस्थामा तत्काल रगत उपलब्ध गराएर पछि प्रमाण पेश गरेपछि शुल्क फिर्ता गर्ने व्यवस्था पनि राखिएको छ ।
सम्झौतामा एक व्यक्तिलाई एक आर्थिक वर्षमा बढीमा १५ पिन्टसम्म रगत उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ । यसले दीर्घरोगी तथा जटिल उपचारमा रहेका बिरामीलाई पनि राहत दिने आधार तयार गरेको छ ।
सम्झौताका उल्लेखित मापदण्डले कार्यक्रमलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाएको देखिन्छ । स्थानीय सरकार र सामाजिक संस्थाबीचको सहकार्यबाट स्वास्थ्य सेवा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने यो गतिलो उदाहरणसमेत हो ।
रक्तदान संस्कृतिलाई टेवा
नगरपालिकाको यो कार्यक्रम केवल निःशुल्क रगत वितरणमा सीमित छैन । सम्झौतामा प्रत्येक वडामा कम्तीमा वर्षमा एक पटक रक्तदान शिविर आयोजना गर्ने व्यवस्था गरिएको छ । यसले समुदायमा रक्तदान संस्कृतिलाई विस्तार गर्न सहयोग पुगेको देखिन्छ । नियमित रक्तदान कार्यक्रम सञ्चालन हुँदा रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात कायम राख्न सहज हुने र आकस्मिक अवस्थामा अभाव कम हुने अपेक्षा गरिएको छ ।
हरेक वडामा नियमित रक्तदान भएको छ त ? भन्ने प्रश्नमा नगर प्रमुख खरेलले नगरपालिका आफैले रक्तदानका कार्यक्रम आयोजना नगरेपनि स्थानीय संघसंस्थाले गर्ने कार्यक्रममा सहजीकरण गर्ने गरेको बताए । 'हामी यसलाई अब नियमित पनि गर्छौं, देवदहमा विभिन्न संघसंस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रममा कति पिन्ट रगत संकलन भयो भन्ने तथ्यांकसमेत अब व्यवस्थित गर्छौं' प्रमुख खरेलले भने ।
पछिल्ला वर्षहरूमा युवापुस्तामा रक्तदानप्रति आकर्षण बढ्दै गएको देखिन्छ । सामाजिक सञ्जालमार्फत रक्तदाता खोज्ने अभियान र स्वयंसेवी समूहहरूको सक्रियताले पनि सकारात्मक प्रभाव पारेको छ ।
स्थानीय संघसंस्थाले संचालन गर्ने रक्तदान कार्यक्रममा युवाहरू आकर्षण बढेको नेपाल स्वयंसेवी रक्तदाता समाज देवदहका अध्यक्ष पवन पौडेल बताउँछन । देवदह नगरपालिकाले रेडक्रससंग गरेको सहकार्य प्रशंसनीय रहेको उल्लेख गर्दै अध्यक्ष पौडेलले देवदहवासीले लिने भन्दा दिने रगतको बढी भएको तथ्यांकले देखाउने बताए । रेडक्रसद्वारा संचालित रक्तसंचार सेवा केन्द्रबाट रगत लिने देवदहवासीको मात्र होइन, रक्तसंचार सेवा केन्द्रलाई रगत दिनेहरूको तथ्यांक देवदह नगरपालिकाले राख्नु पर्ने उनको भनाई छ ।
स्थानीय संघ संस्थाले रक्तदान कार्यक्रम आयोजना गर्दा नगरपालिकालाई सुचना दिने र यसरी कार्यक्रममा सहभागीलाई रक्तदान गरेको प्रमाण पत्र नगरपालिकाले प्रदान गर्दा रेकर्ड पनि रहने र नगरपालिकाको उपस्थिति पनि देखिने हुन सक्छ । त्यसतर्फ नगरपालिकाले ध्यान दिन जरुरी छ ।
स्थानीय सरकार भनेको सडक पिच गर्ने र भौतिक पूर्वाधार खडा गर्ने एजेन्सी मात्र होइन, संकटको बेला आफ्ना नागरिकको अभिभावक पनि हो भन्ने कुरा देवदह नगरपालिकाको यो कार्यक्रमले पुष्टि गरेको छ । बिरामी पर्दा रगतको पैसा तिर्न नसकेर वा रगत नपाएर कसैले पनि ज्यान गुमाउनु नपरोस् भनी स्थानीय सरकारले वार्षिक लाखौँ रुपैयाँ खर्च गर्नु आफैमा प्रशंसनीय कार्य हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology